काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेकी छन् ।
भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै आएको लगातारको दुर्व्यवहार सहन नसकेपछि केआईआईटी बी-टेक तेस्रो वर्षमा अध्ययनरत लम्सालले आत्महत्या गरेको उनका साथीहरुले दाबी गरेका छन् । लम्साल मृत फेला परेपछि अहिले त्यहाँ नेपाली विद्यार्थीले प्रदर्शन गरिरहेका छन् । प्रहरीले घटनाका आरोपी श्रीवास्तवलाई नियन्त्रणमा लिएको छ ।
यसैबीच सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ । सोमबार अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको छात्रावासमा मृत भेटिएको घटनाप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
बडालले उक्त घटनाको निस्पक्ष छानबिन गर्न दबाब दिन तथा न्यायको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीहरुहरुमाथि कलेज प्रशासनले दमन गर्ने र उल्टै कलेजबाट निकाल्ने जस्तो अमानवीय कार्य गरेकोमा घोर भर्त्सना गरेका छन् ।
अनेरास्ववियुले यस घटनाको कुटनीतिक पहल मार्फत भारत सरकारसँग कुरा गरी निस्पक्ष छानबिन गराउन तथा त्यस विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभुति गर्दै अध्ययनको वातावरण निर्माण गराउन नेपाल सरकार जोडदार माग गरेको छ । उक्त विश्वविद्यालयमा भईरहेको न्याय प्राप्तिको आन्दोलनप्रति संगठनको तर्फबाट ऐक्यवद्धता जनाईएको छ ।




प्रतिक्रिया