सरकार अराजक र निरङ्कुश बन्दै गएको छ, विकास निर्माण, शान्ति सुरक्षा र जनतालाई डेलिभरी दिनेतर्फ ध्यान छैनः प्रकाश ज्वाला


काठमाडौं, ७ फागुन । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं पूर्वमन्त्री प्रकाश ज्वालाले सरकारले अध्यादेश ल्याउँदा विधि मिचेको र यसमा रहेका अन्तरवस्तुसमेत खराब रहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले अध्यादेशमा रहेका अन्तरवस्तुको मिहिन अध्ययन गरेर नै आफूहरुले अस्वीकार गर्ने निर्णय गरेको बताएका हुन् ।

साथै, केपी शर्मा अ‍ोली नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारी, भूमाफिया र दलालहरुलाई फाइदा हुने काम गरिरहेको उनले बताए । अहिलेको सरकार अराजक भइरहेको उनको आरोप छ । नेता ज्वालाले सरकार निरङ्कुशताको बाटोमा हिँडिरहेको दाबी गरे । वर्तमान सरकारको ध्यान विकास निर्माण, शान्ति सुरक्षा र जनतालाई डेलिभरी दिनेतर्फ नरहेको उनले बताए ।

‘अब त भ्रष्टाचारीहरु, भूमाफियाहरु सबले उन्मुक्ति पाउने, महान्याधिवक्ताले मुद्दा चल्दैन भन्दै हिँड्ने यो भन्दा ठूलो अराजकता के हुनसक्छ । सत्तामा हैकमवाद बढ्दै गएको छ । सरकार साफिस्टवाद र सडक अराजकतातिर जाने स्थिति छ । सत्ता निरङ्कुश बन्दैछ । संविधान, कानुन मिच्ने काम भइरहेको छ । विकास निर्माण, शान्ति सुरक्षा, जनतालाई डेलिभरी छैन । जनताले न्याय पाइरहेका छैनन्,’– उनले भने ।