काठमाडौं, ७ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक गरेको वक्तव्य एकदमै गम्भीर खालको रहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लोकतन्त्र र प्रजातन्त्रलाई नै सिध्याउने खालका वक्तव्यबाजी स्वीकार्य र सम्भवन रहेको बताए । पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्रलाई सिध्याउने र फेरि १७ साल व्यूँताउने सोच, चिन्तन राखेको उनको भनाइ छ ।
‘पूर्वराजा ज्ञानेन्द्रले यसरी वक्तव्यबाजी गरिराखेका छन्, यो अत्यन्त गम्भीर खालको कुरा हो । यसबारेमा ध्यान दिनुपर्छ । केही कमीकमजोरी छन् भन्दैमा अब लोकतन्त्रलाई नै हटाउन, प्रजातन्त्रलाई नै सिध्याउने, फेरि राजतन्त्र ल्याउने, मूलुकलाई फेरि पछाडि फर्काउने, यो काम किमार्थ सम्भव छैन । त्यसैले सबै राजनीतिक पाटीहरु पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यबाट शर्तक हुनुपर्छ । फेरि प्रजातन्त्रलाई सिध्याउने, १७ साल व्यूँताउने, मुलुकमा तानाशाही व्यवस्था ल्याउने खालका सोचहरु, चिन्तनहरु विकास भएका छन् । पूर्वराजा ज्ञानेन्द्रले जसरी वक्तव्यबाजी गरिरहेका छन्, यो गम्भीर विषय हो । यसको म घोर भर्त्सना गर्न चाहन्छु,’– उनले भने ।
पूर्वराजा ज्ञानेन्द्रको यस्ता प्रकारका अभिव्यक्ति र गतिविधिमा सबै राजनीतिक दलले ध्यान पुर्याउन आवश्यक रहेको उनको भनाइ छ । उपाध्यक्ष ज्ञवालीले भने, ‘राजाले जसरी लोकतन्त्रलाई चुनौति दिइराखेका छन्, हामी चुप लागेर बस्न हुँदैन । सम्पूर्ण राजनीतिक पार्टीहरु यसबाट सजग हुनुपर्यो । फर्केर आउँछु भन्ने खालको चुनौति दिने काम पूर्वराजाले गरिरहेका छन् । यसबाट पनि हामी राजनीतिक पार्टीहरु बढी शर्तक, सजग हुनुपर्छ ।’




प्रतिक्रिया