ट्रम्प र जेलेन्स्कीबीच विवाद चर्कियो, शान्ति वार्तामा असहमति


काठमाडौं, फागुन ८ । युक्रेनमा जारी युद्धको अन्त्यका लागि अमेरिका र रुसबीच शान्ति वार्ता आरम्भ भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको विवाद अझ गहिरो भएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा जेलेन्स्कीलाई “चुनावविहीन तानाशाह” भनेपछि दुवै नेताबीचको विवाद थप चर्किएको हो। यसअघि, जेलेन्स्कीले रुसद्वारा युक्रेनको बारेमा फैलाइएका गलत सूचनाहरूको आरोप लगाएका थिए। उनले भनेका थिए, “म राष्ट्रपति ट्रम्पलाई धेरै सम्मान गर्छु, तर उनी गलत सूचनाको दुनियाँमा छन्।”

जेलेन्स्कीको राष्ट्रपति कार्यकाल मे २०२४ मा समाप्त हुने थियो, तर २०२२ फेब्रुअरीमा रुसको आक्रमणपछि युक्रेनमा मार्शल ल लागू गरिएको छ, जसका कारण चुनाव गर्न सकिएको छैन। ट्रम्पले भनेका छन् कि जेलेन्स्कीको अनुमोदन लोकप्रियता केवल ४ प्रतिशतमा झरेको छ। तर, बीबीसी भेरिफाईको रिपोर्टअनुसार, ५७ प्रतिशत युक्रेनीहरूले अझै राष्ट्रपति जेलेन्स्कीप्रति विश्वास राख्ने बताएका छन्।

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा मंगलबार साउदी अरेबियामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच शान्ति वार्ता भएको थियो। युद्ध सुरु भएदेखि दुई देशबीच युद्ध अन्त्यको विषयमा भएको पहिलो यस्तो बैठक हो। तर, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यस बारे असहमति राख्दै टिप्पणी गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धको दोषी युक्रेन नै भएको बताएका छन्। उनले युक्रेन सम्झौतामा पुग्न नसक्नु युक्रेनकै गल्ती भएको बताएका छन्।