प्रधानमन्त्री ओलीलाई संविधान र कानुन मिच्ने बानी परिसकेको माधवको टिप्पणी, तानाशाही शासन लाद्न खोजेको आरोप


काठमाडौं, ९ फागुन । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान र कानुन मिच्ने बानी नै परिसकेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) पार्टीका केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले दुई दलीयको नाममा तानाशाही शासन लाद्ने प्रयत्न गरिरहेको बताएका हुन् । उनले वर्तमान सरकारले संसद्को नियम, नियमावलीलाई मिच्ने कुरादेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहेको उनले बताए । वर्तमान सरकार आफ्ना आलोचकहरुलाई घाँटी निमोठ्न अग्रसर रहेको उनले बताए ।

‘हाम्रो देशमा जुन सरकार अहिले शासन सञ्चालन गरिरहेको छ । त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौति दिँदै दुई दलीय शासनको सोचलाई अघि बढाउन खोजिरहेको छ । दुई दलीय शासन अर्थात् दुई दलीयको नाममा एक दलीय तानाशाही शासन लाद्ने सोचभन्दा भिन्न छैन । स–साना दलहरुलाई समाप्त पार्ने, प्रतिद्वन्द्वी पार्टीहरुलाई समाप्त पार्ने, अनेक किसिमले नियन्त्रणका तौरतरिका अपनाएर यो देशमा तानाशाही लाद्ने दुष्चेष्टा गरे । संविधानलाई मिच्ने बानी परिसकेका व्यक्तिहरु कानुन मिच्न पनि त्यतिकै अग्रसर भएका छन्,’– अध्यक्ष नेपालले भने ।

वर्तमान सरकारलाई देशको समस्याप्रति कुनै वास्ता नरहेको, जनताको समस्याप्रति कुनै चासो नरहेको र देश विकासप्रति कुनै गम्भीरता नरहेको उनको दाबी छ । देशभित्र भेदभाव, छुवाछुतको घटना बढिरहेको, बलात्कारको घटना बढिरहेको भन्दै अध्यक्ष नेपालले सरकारले यस्ता प्रकृतिको अपराध नियन्त्रण गर्न नसकेको बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीको बारेमा कुप्रचार गरिएको भन्दै आपत्ति जनाए । एकीकृत समाजवादी एमालेमा मिल्दैछ, माओवादीतिर जाँदैछ भन्ने कुप्रचार गरिएको भन्दै अध्यक्ष नेपालले भ्रममा नपर्न आग्रह गरे ।

‘हाम्रो पार्टीको बारेमा अनेकथरीका कुराहरु प्रचारमा आउने गरेको छ । कसैले एमालेसँग मिल्नेभयो भनेका छन्, कसैले माओवादीसँग मिल्न जाने भयो भनेर अनेक किसिमका कुप्रचारहरु भइरहेका छन् । यस्ता कुनै पनि कुप्रचारको भ्रममा पर्नुपर्ने आवश्यकता छैन । हामी आफ्नो पार्टीलाई बलियो र प्रभावकारी बनाउन चाहन्छौं,’– उनले भने ।