काठमाडौं, फागुन १४ । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि बुधबार (आज) धुमधामका साथ देशभरि मनाइँदै छ । भगवान् शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पर्वका रूपमा विभिन्न पुराणमा उल्लेख छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यो दिन भक्तजन रातभर जागा रहेर भगवान् शिवको आराधना गर्दै भजन गाउँछन् । महिलाका लागि शिवरात्रिको विशेष महìव छ । अविवाहित युवती शिवको प्रार्थना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मङ्गल कामना गर्छन् ।

युवामाझ पनि शिवरात्रिको आफ्नै ‘चार्म’ छ । शिवरात्रि हिउँदको समाप्ति र गर्मीको सुरुवातको सूचक पनि हो । यसको रौनकले गाउँदेखि सहरसम्म, तराईका फाँटदेखि पहाडका उकाली–ओरालीसम्मलाई ढपक्कै छोप्छ । शिवरात्रिको अघिल्लो दिनदेखि पशुपतिनाथ, शिवमन्दिर, शिवालयमा दर्शनार्थीको भिड लाग्ने गर्छ । बदलिँदो समयमा यसले आफ्नो मौलिकता गुमाउँदै गएको गुनासो पनि आउने गरेको छ । मादक पदार्थ, गाँजा, भाङ, धतुरो जस्ता वस्तुका सेवनमा शिवरात्रि केन्द्रित देखिँदै आएको छ ।






प्रतिक्रिया