काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकार सफल हुने दाबी गरेका छन् । कांग्रेस र एमालेजस्ता ठूला दल मिलेर बनेको सरकार भएकाले सरकार सफल हुनेमा कुनै आशंका नभएको देउवाको भनाई छ ।
आजबाट सुरु भएको पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको दुई दिने प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारलाई एकदमै सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिए ।
उनले ओलीपछि आफू सरकारको नेतृत्वमा पुग्ने सुनाउँदै अहिले एमाले नेतृत्वको सरकारलाई सहयोग गरिए भोलिका दिनमा कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेको पूरापुर सपोर्ट मिल्ने कुरा सुनाए ।
उनले कांग्रेसले एकल बहुमत ल्याउन नसक्ने सुनाए । तर, ठूलो पार्टी भने हुनसक्ने उनको भनाई थियो । त्यहीअनुसार पार्टीका गतिविधिमा खटिन उनले नेता तथा कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।




प्रतिक्रिया