युवा क्रिकेटर राहुल यादवको गाउँमा ऋषि धमलालाई भव्य स्वागत, गरे २५ हजार सहयोग


रौतहट । रौतहटको बौधिमाई नगरपालिका–१ मा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला र युवा क्रिकेटर राहुल यादवलाई स्थानीयले भव्य स्वागत गरेका छन् ।

छठ पर्वको अवसरमा मधेस यात्रामा निस्किएका धमला रौतहटको बौधिमाई नगरपालिका–१ स्थित राहुल यादवको गाउँ पुगेका हुन् । त्यहाँ स्थानीयले यादवसँगै उनलाई स्वागत गरेका थिए ।

सो अवसरमा धमलाले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चा कमाएका युवा क्रिकेटर यादवलाई आगामी दिनमा थप सफलता मिलोस् भन्दै शुभकामना व्यक्त गरे । उनले यादवलाई प्रोत्साहनस्वरूप २५ हजार रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरे ।

राहुल यादव तीव्र गतिका बलर हुन् । ट्यालेन्ट हन्टमार्फत छनोट भएर एनपीएलमा जनकपुर बोल्ट्सबाट खेलेका उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक विकेट लिने बलरको सूचीमा स्थान बनाएका थिए ।

छठ पर्वका अवसरमा मधेस यात्रामा रहेका धमलालाई रौतहटका विभिन्न गाउँमा पनि स्थानीयले स्वागत गरिरहेका छन् ।

यसअघि शनिबार धमला मकवानपुरमा विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका अवधेश यादवको घरमा पनि पुगेका थिए । उनले शोकाकुल परिवारलाई भेटेर समवेदना व्यक्त गरेका थिए ।