काठमाडौं, २० फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार जति टिक्छ, त्यति नै धैरै फाइदा आफ्नो पार्टीलाई हुने बताएका छन् । उनले अहिलेको यस्तो परिस्थितिमा आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट पारे । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले वर्तमान सरकार फेरबदलतिर आफूहरुको चासो नरहेको र माओवादी जनतातिरै ठीक रहेको बताएका हुन् ।
वर्तमान सरकारको आयुबारे सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उनले भने, ‘अब सरकारको आयुको बारेमा, जनतामा आम रुपमा असन्तुष्टि छ, तपाईँहरुले पनि देखिराख्नु भएकै छ । नेपाली कांग्रेस, एमालेभित्रै पनि उकुसमुकुसको स्थिति छ । तर, अहिले आयु नतोकौं । हामी त के भनिराखेका छौं भने– बसी राखोस् यो सरकार, जति बस्छ, त्यति माओवादीलाई फाइदा हुन्छ । त्यस भएको हुनाले हामीले आयु तोकेर हटाउनेतिर भन्दा बसिराखोस् । उनीहरुले जे गरेका छन्, गलत गरेका छन् । जनताले त्यो कुरा बुझिराखेका छन् । त्यसकारण हामीलाई त्यति साह्रो त्यतातिर चासो छैन, हामी जनतातिरै ठीक छौं ।’
साथै, सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको भनेर आफूहरुले सुरुदेखि नै भन्दै आएको स्मरण गराउँदै उनले उक्त कुरा क्रियाकलापहरुले पुष्टि गर्दै आएको बताए । अध्यक्ष प्रचण्डले तथाकथित दुई तिहाईको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास रहेको टिप्पणी गरे । उनले अध्यादेश पास हुने अवस्था नरहेको समेत बताए । ‘केही अध्यादेश त पास नहुने दिशातिर गइ नै सके । बाँकी पनि पास हुन्छन् जस्तो लाग्दैन, भए पनि यसबाट जनतालाई केही फाइदा हुँदैन,’– उनले भने ।





प्रतिक्रिया