काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले पार्टीको १५औं महाधिवेशनमा आफू सभापतिमा उम्मेदवारी दिने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूलाई वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको समेत साथ रहेको बताए । उनले अहिले पनि आफू र देउवाबीच अन्तरङ्ग कुराकानी हुने गरेको बताए ।
‘म शेरबहादुरको गुटमा हैन, सँगै छु, सहकार्यमा छु । म अहिले पनि शेरबहादुरजीसँग कहिलेकाहीँ अन्तरङ्ग कुरा यति गर्दछु, अरु कसैले पनि गर्न सक्दैन । शेरबहादुरजीले पनि मसँग अन्तरङ्ग कुरा गर्नुहुन्छ । अहिले उहाँसँग सबैभन्दा नजिक देखिएकासँग पनि उहाँले गर्न सक्नुहुन्न । उहाँले मसँग कुरा गर्नुहुन्छ,’ उनले भने,‘….सहकार्यको संस्कृतिलाई प्रारम्भ गर्नका लागि र नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि १५ महाधिवेशनमा सर्वसम्मत र निर्विरोध उम्मेदवार हुन पाए हुन्थ्यो भन्ने चाहना मेरो हो ।’
साथै, उनले कांग्रेसका तीन युवराजको रुपमा चर्चा हुनेगरेका ‘प्रकाशमान, सशंक र विमलेन्द्र’ बीच आगामी महाधिवेशनमा सहकार्य होस् भन्ने आफ्नो चाहना रहेको बताए । गत १४औं महाधिवेशनमा पनि आफूले सोही प्रस्ताव अगाडि बढाएको उनले स्मरण गराए । शेखर कोइराला, गगन थापालगायतका नेताहरुसँग आफ्नो सहकार्य हुने अहिले सम्भावना नरहेको उनले बताए ।




प्रतिक्रिया