काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता तत्काल परिवर्तन गर्न नेताहरुलाई दिएको पाँचौं निर्देशन पनि असफल भएको छ ।
गत साता आफ्नो निवासमा सुदूरका सबै सांसदलाई बोलाएर प्रचण्डले आफू २० गते सुदूरपश्चिम आउने र त्यसअघि नै दलको नेता परिवर्तन गर्न निर्देशन दिएका थिए । तर, सो निर्देशन कार्यान्वयन भएको छैन् । माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न टिकापुरमा आज सुरु हुँदै छ । सम्मेलन उद्घाटन गर्न प्रचण्ड टीकापुर पुगिसकेका छन् । तर, पुरानो निर्देशन भने कार्यान्वयन भएको छैन् ।
गत साता तराई मधेश जागरण अभियानमा रहँदा रहँदै कोशीबाट काठमाडौं आएर प्रचण्डले आफ्नो निवास खुमलटारमा प्रदेश सभाका १० सांसद, प्रदेश इन्चार्ज र सहइन्चार्ज लगायतका नेताहरुलाई बोलाएर प्रचण्डले एक साताभित्र प्रदेश संसदीय दलको नेता परिवर्तन गर्न निर्देशन दिएका थिए ।
माओवादीमा सुदूर संसदीय दलको नेतालाई लिएर विवाद चर्कँदै आएको लामो समय भइसकेको छ । गत वर्षको माघ १२ गते उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बहुमत प्रदेशसभा सदस्यहरुको बैठकले खगराज भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता चयन गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि माओवादीमा विवाद उग्र बन्दै गइरहेको छ ।
प्रदेश सभामा मुख्यमन्त्री बनाउने आश्वासनसति सांसद बनेका भट्ट दलको नेताबाट समेत हटाईएपछि उनीपक्षीय नेताहरु रुष्ट छन् । बहुमतको सो निर्णय कार्यान्वयन नगराउन उनले पटक(पटक केन्द्रमा ताकेता गर्दै आइरहेका छन् ।
दलको नेताबाट हटाईएका भट्टलाई फेरि संसदीय दलको नेतामा फर्काउन यसअघि पनि पटक पटक प्रयास भएको थियो । केन्द्रले पनि चार पटक निर्देशन दिइसकेको छ । तर, कार्यान्वयन भएको छैन् ।
गत भदौमा प्रदेशको परामर्श बैठकका लागि धनगढी पुगेका बेला पनि अध्यक्ष प्रचण्डले भट्टलाई संसदीय दलको नेता बनाउन निर्देशन दिएका थिए । दुईपटक लिखित र एकपटक मौखिक निर्देशन दिएका प्रचण्डले बैठकमा फेरि मौखिक निर्देशन दिएका थिए । तर, संसदीय दलका नेता धामीले भने केन्द्रको निर्देशन सिधै कार्यान्वयन गर्न नसकिने अडान राखेपछि निर्देशन कार्यान्वयन भएन ।
असार २०८० मा प्रचण्डले सांसदहरूसँग छलफल गरेर भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनर्स्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिएका थिए । त्यो निर्देशन न त पार्टी समितिले लागू गर्न सक्यो, न त संसदीय दलले टेर्यो ।
दोस्रोपटक प्रचण्डले फेरि सबै नेताहरूलाई बालुवाटार बोलाएर दलको नेता खगराजलाई बनाउन निर्देशन दिए । त्यो पनि लागू भएन । विवाद मिलाउन खगराजलाई दलको नेताभन्दा माथिल्लो वरीयतामा राख्ने निर्णय भयो । तर, बैठकमा भट्ट सहभागी भएनन् ।
सुदूरमा माओवादीका सभामुखबाहेक १० जना सांसद छन् । आफू सहित ६ जना सासंसद्को समर्थन लिएर धामी दलको नेता बनेका थिए । हाल भट्ट र धामी दुवैको पक्षमा समान ५(५ जना सांसद छन् ।
संसदीय दलका नेताबाट भट्टलाई हटाइए धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।
धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५–५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।




प्रतिक्रिया