राप्रपाको निष्कर्षः पूर्वराजाको सन्दर्भ जोडेर सरकार आँत्तियो, केही नेता भाग्ने तयारीमा छन् (भिडिओसहित)


काठमाडौं, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष एवं पूर्वमन्त्री ध्रुबबहादुर प्रधानले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा नै सरकार आत्तिएको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले राजा फर्किने सन्दर्भ जोडेर सरकार आत्तिएको, माओवादीले कार्यक्रम नै छाडे दौडादौड गरेको र केही नेता अब के पो हुने हो भनेर भाग्ने तयारीमा रहेको बताएका हुन् ।

‘सबैजना बडो आत्तिनु भएको छ, सरकार नै आत्तिएको छ । कसैले त आफ्नो कार्यक्रम छोडेर, अब के पो भइहाल्छ भनेर दौडादौड गरिराखेका छन् । कोही लुकेका छन्, कोही भाग्ने तयारी गरिराखेका छन् । सुरक्षाकर्मी सबै परिचालन गरेर आजै सबै परिवर्तन हुन्छ भन्ने डर पनि मानिराख्नु भएको छ,’– नेता प्रधानले भने ।

उनले आज आफूहरुको कुनै आन्दोलन र प्रदर्शन नभएर पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने कार्यक्रमात्रै रहेको बताए । पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको वक्तव्यअनुसार उनलाई स्वागत गर्न लागिएको पनि नेता प्रधानले बताए । पूर्वराजा ज्ञानेन्द्र आज दिउँसो ३ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको बताइएको छ ।

‘आज सिम्पल कुरा हो । अत्यन्त सान्दर्भिक सम्बोधन, देशको स्थिरता, देशको विकासका लागि अनियमितताको अन्त्य गरेर एकताले देशलाई अगाडि बढाऔं भन्ने आह्वान गरिबक्सियो । त्यसको लागि उहाँ आउने बेला स्वागत गरों भन्ने मात्रै हो । राजाको वक्तव्यलाई स्वागतार्थमात्रै उपस्थिति हुन्छ,’– उनले भने ।

राप्रपा, राप्रपा नेपाललगायतका राजसंस्था र राजावादी शक्तिहरुले पूर्व राजा ज्ञानेन्द्रको स्वागतका लागि एयरपोर्टमा आउन आह्वान गरिसकेका छन् । आज पूर्वराजाको स्वागतका १० हजारभन्दा बढी मानिसहरुको उपस्थित हुनसक्ने गृह प्रशासनको आँकलन रहेको छ ।