ओली सरकारको असक्षमताको कारण नक्कली राजावादीहरु सडकमा आएः माओवादी नेता किराती (भिडिओसहित)


काठमाडौं, २६ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले वर्तमान सरकारले ‘डे वान’ देखि नै गलत क्रियाकलाप गर्दा जनतामो वितृष्णा बढेर कथित राजावादीहरुको पक्षमा माहोल बनेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको असक्षमताको कारण कथित नक्कली राजावादीहरुले सडकमा आउने कुचेष्टा गरेको बताएका हुन् । वर्तमान सरकारले अन्तर्राष्ट्रिय रुपमा कुटनीतिक क्षमता गुमाएको, राष्ट्रिय रुपमा सुशासन शून्य नै भएको र एउटै कानुन दुई जनालाई फरक ढंगले लागू गरेको उनको आरोप छ ।

‘वर्तमान सरकारले ‘डे वान’ देखि गरेको क्रियाकलापले मान्छेमा वितृष्णा जागेको छ । त्यसको पनि यो परिणाम हो । यो सरकारले अन्तर्राष्ट्रिय रुपमा कुटनीतिक क्षमता गुमायो । राष्ट्रिय रुपमा सुशासन शून्य भयो । आर्थिक रुपमाले देशलाई ग्रेलिस्टमा चढायो । देश बनाउँछु भन्छ, कुलमानजस्तो काम गर्ने देशभक्त र परिरणाम दिने कर्मचारीलाई निकाल्छु भन्छ । एउटै कानुन दुई जनालाई फरक ढंगले लगाउँछ । त्यो कारण पनि जनता रिसाएका छन्,’– उनले भने ।

साथै, उनले नेपालमा अब राजतन्त्र कहिले पनि नफर्किने उनको दाबी छ । ज्ञानेन्द्र शाह विगतमा पनि नक्कली राजा रहेको बताउँदै उनले आज नक्कली राजतन्त्रवादीहरुले आफ्नो भान्सा उज्यालो बनाउन ‘राजा आउ’ भनिरहेको बताए । नेता किरातीले विरेन्द्रको वंशनाशसँगै देशमा विधिवत रुपमा राजतन्त्रको अन्त्य भएको र तत्कालीन राजनीतिक दलहरुको असक्षमताको कारण ज्ञानेन्द्रले राजा बन्ने मौका पाएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अर्को व्यवस्था हुनै नसक्ने भन्दै राजतन्त्र नफर्किने विविध आधारसमेत प्रस्तुत गरे ।

‘पहिलो आधार अहिले लोकतान्त्रिक गणतन्त्रमा निर्वाचनबाट प्रतिस्पर्धा गरेर जनताको छोराछोरी राष्ट्रप्रमुख हुने जुन व्यवस्था हो । यो व्यवस्थाको विरुद्धमा आउने राजासँग एजेण्डा छैन । अथवा राजतन्त्र पक्षधरसँग एजेण्डा छैन । दोस्रो कुरा जो राजा बन्छु भनेर ज्ञानेन्द्र शाहले निराखेका छन् । ज्ञानेन्द्र र ज्ञानेन्द्रको साथामा रहेको पारसको जनतासामु छवि राम्रो छैन । तेस्रो कुरा राष्ट्रिय अन्तरराष्ट्रिय परिस्थिति उसको पक्षमा छैन । यी सबै कारणले गर्दा राजा आउँछु भनेर आउन सक्ने स्थिति पटक्कै छैन,’– नेता किरातीले भने ।

अब राजनीतिक दलहरुले जनतासामू भीष्मप्रतिज्ञा गर्दै देशलाई विकास, सुशासन र समृद्धिको बाटोमा हिँडाउँछौं भनेर सच्चिने र परिणाम दिँदै जानुको विकल्प नरहेको उनले बताए । नेता किरातीले लोकतन्त्रको पक्षमा सबै लोकतान्त्रिक, गणतान्त्रिक पक्षधरहरु एक ठाउँमा उभिन सक्नुपर्ने बताए । ‘मैले त सधैं भनेको छु– मिलेरै निरङ्कुशता फालेको हो, मिलेरै संविधान बनाएको हो । विविधतायुक्त यो समाज मिलेर नै बसेको हो । अब नेपालको नयाँ राजनीतिक बाटो बनाऔं । १० वर्षको निम्ति भ्रष्टाचारको विरुद्धमा, अशिक्षा र बेरोजगारको विरुद्धमा र राष्ट्रियताको पक्षमा सबै मिलेर नेपाली राजनीतिको नयाँ बाटो निर्माण गरौं,’– उनले भने ।