रविमाथि मुकुलको गम्भीर आरोप, राजाको पक्षमा लाग्ने आन्तरिक रणनीति बुनिरहेको दाबी


काठमाडौं । रास्वपाका पूर्व नेता डा मुकुल ढकालले रास्वपाका सभापति रवि लामिछाने राजाको पक्षमा लाग्ने तयारीमा रहेको गम्भीर आरोप लगाएका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै रास्वपाका निस्कासीत महामन्त्री रहेका ढकालले रविमाथि लागेको मुद्दा कमजोर बनाउने शर्तमा देउवा र ओलीसँग सम्झौता गरेको, यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा प्रचण्डसँग मिलेर पासपोर्ट काण्ड मिलाएको लगायतका आरोप लगाएका छन् ।

‘रवि दाइले भित्री रूपमा देउवा र ओलीसँग सम्झौता गरेछन् । मुद्दा कमजोर बनाइदिने र राजातिर भड्किएको जमातलाई फेरि आफूतिर तानेर राजावादी मोर्चालाई कमजोर बनाउने सम्झौता भएको बुझ्न सकिन्छ’, ढकालले भनेका छन्, ‘पहिला पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी पासपोर्ट काण्डमा यस्तै सम्झौता भएकै थियो । अन्य अवस्थामा रवीन्द्र मिश्रजस्तै मार्ग परिवर्तन गरी राजाको पक्षमा लाग्ने आन्तरिक रणनीति बुनिरहेका छन् ।’