काठमाडौं, २७ फागुन । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले दाङका गुठी पीडित किसानहरुको समस्या समाधानमा सरकार गम्भीर नदेखिएको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पीडित किसानहरुको समस्या देख्ने र सुन्ने राज्यसँग आँखा र कान नै नभएको जस्तो भान भइरहेको बताएका हुन् । उनले उल्टै सरकारले डकैती शैलीमा किसानहरुको सामान लुटपाट गरेर दुःख दिइरहेको बताउँदै यसको हिसाबकिताब हुने बताए । आफूहरु किसानमाथि राज्यले गरिरहेको व्यवहारको जवाफ पत्थरले दिन तयार रहेको पनि बताए ।
‘दाङका किसानहरु धर्नामा बसेको ३८ दिन भयो । राज्यले माग सम्बोधन गरेको छैन । राज्यसँग सुन्नलाई कान छैन, हेर्नलाई आँखा छैन । किसानहरुको साथमा रहेका सामाग्रीहरु डकैती शैलीमा खोसिएको छ । यदि यसलाई ठीक मान्ने हो भने हामी पनि हिसाब गर्छौं । इटाको जवाफ पत्थरले दिन्छौं,’– उनले भने ।
किसानहरुको न्यायपूर्ण आवाजलाई अन्यायपूर्ण तरिकाले दवाउन प्रयास गरिएको खण्डमा राज्यले पुनः अर्को विद्रोहको सामना गर्नुपर्ने उनको चेतावनी छ । ‘पञ्चायत व्यवस्थामा पनि किसानहरुले विद्रोह गरेका थिए । २०५२ सालदेखि सुरु भएको जनयुद्धमा पनि थारु किसानहरुको उल्लेखनीय योगदान थियो । यदि किसानहरुको न्यायिकपूर्ण आवाजलाई अन्यायपूर्ण तरिकाले दवाउने प्रयास गरिन्छ भने राज्यले पुनः अर्को विद्रोहको सामना गर्नुपर्ने हुन्छ,’– उनले भने ।




प्रतिक्रिया