उपराष्ट्रपति यादव र बङ्गलादेशी कार्यवाहक राजदूत कबीरबीच शिष्टाचार भेटवार्ता


काठमाडौँ, २१ चैत । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालस्थित बङ्गलादेशी दुतावासका कार्यवाहक राजदूत मोहम्मद हुमायूँ कबीरले शिष्टाचार भेटवार्ता गरेका छन् । लैनचारस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र बङ्गलादेशबीच सन् १९७१ मा बङ्गलादेश स्वतन्त्र राष्ट्रका रूपमा स्थापना भएदेखि नै मैत्रीपूर्ण र सद्भावपूर्ण सम्बन्ध कायम रहेको बताए ।

“दुई देशबीच उच्चस्तरीय भ्रमणहरूको आदान–प्रदान, द्विपक्षीय संयन्त्र र बैठकहरूले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, उनले भने, “हाम्रो दुई देशबीचको व्यापार पछिल्ला वर्षहरूमा वृद्धि भएको र थप व्यापार विस्तार र विविधीकरण गर्न सक्नुपर्दछ ।”

उपराष्ट्रपति यादवले बङ्गलादेशले तेस्रो देशसँगको व्यापारका लागि चिटगाँव र मङ्गला बन्दरगाहमार्फत ट्रान्जिट सुविधा प्रदान गरेकोमा खुसी व्यक्त गरे । “रोहनपुर–सिङ्गाबाद रेलवेमार्गको शीघ्र सञ्चालनले यी समुन्द्री बन्दरगाहहरूमार्फत ट्रान्जिट सहकार्य प्रवद्र्धन गर्न महत्वपूर्ण हुनेछ”, उनले भने, “विमान बङ्गलादेश र हिमालयन एयरलाइन्समार्फत हवाई उडानले पर्यटन प्रवद्र्धन एवं नेपाल र बङ्गलादेशबीच जनसम्पर्कलाई सहज बनाएको छ ।”

उपराष्ट्रपति यादवले नेपालको जलविद्युत् सम्भावना र बङ्गलादेशको ऊर्जा आवश्यकताहरूले दुई देशबीच ऊर्जा सहकार्यलाई विस्तार गर्ने प्रचुर अवसर प्रदान गरेको उल्लेख गरे । उनले नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश डेभलपमेन्ट बोर्ड र भारतको विद्युत् व्यापार निगम लिमिटेडबीच ३ अक्टोबर २०२४ मा काठमाडौँमा त्रिपक्षीय पावर सेल्स एग्रिमेन्ट (पिएसए) मा हस्ताक्षर हुनु प्रशंसनीय कार्य भएको बताए ।

“यस ऐतिहासिक सम्झौता नेपाल–बङ्गलादेश सम्बन्धमा कोसेढुङ्गाका रूपमा रहेको छ र यसले दक्षिण एसियामै क्षेत्रीय र उपक्षेत्रीय ऊर्जा सहकार्यलाई प्रवद्र्धन गर्ने अपेक्षा छ,” उनले भने, “नेपाल र बङ्गलादेश दुवै देशमा प्राकृतिक सौन्दर्य, समृद्ध सभ्यता र सांस्कृतिक धरोहर, साहसिक खेलकुद र जैविक विविधता झल्काउने प्रशस्त प्रसिद्ध पर्यटकीय गन्तव्यहरू छन् । नेपाल बङ्गलादेशका लागि महत्वपूर्ण पर्यटक गन्तव्य रहिआएको छ ।”

उपराष्ट्रपति यादवले नेपाल र बङ्गलादेशबीच सांस्कृतिक सम्बन्ध र जनसम्पर्क प्रगाढ रहेको उल्लेख गरे । “नेपाली विद्यार्थीहरूका लागि बङ्गलादेश चिकित्सा, दन्तचिकित्सा र इन्जिनियरिङका क्षेत्रमा उच्च अध्ययनका लागि एक आकर्षक गन्तव्य रहीआएको छ”, उनले भने, “बङ्गलादेश सरकारले वार्षिक रुपमा सोही सङ्कायहरुमा २० भन्दा बढी छात्रवृत्ति प्रदान गरिरहेकामा नेपाल धन्यवाद दिन चाहन्छ ।”

उनले नेपाल र बङ्गलादेशबीच उपक्षेत्रीय, क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चहरूमा आपसी चासोका विषयहरूमा सहकार्य हुँदै आएकामा खुसी समेत व्यक्त गरे । “यस्ता सहकार्य भविष्यमा पनि जारी रहनु पर्दछ”, उनले भने, “नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई एक मित्रराष्ट्रका रूपमा उच्च महत्व दिन्छ । हाम्रो दुई देश र जनता बीचको सम्बन्ध भविष्यमा अझ प्रगाढ हुने विश्वास लिएको छु ।”

भेटवार्ताका क्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले बङ्गलादेशको राष्ट्रिय दिवसका अवसरमा महामहिम राष्ट्रपति महम्मद शाहबुद्दिन र बङ्गलादेशी जनतालाई न्यानो अभिवादनसहित हार्दिक बधाई तथा शुभकामनासमेत व्यक्त गरे ।

कार्यवाहक राजदूत मोहम्मद हुमायूँ कबीरले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध गहिरो रहेको उल्लेख गर्दै दुई देशले पर्यटन विकासमा जोड दिनुपर्ने बताए । “नेपालसँग सगरमाथा छ, बङ्गलादेशसँग ‘सी बिच’ छ, जुन पर्यटनको आकर्षणको केन्द्र बन्न सक्छ,” उनले भने, “हरेक वर्ष ४० हजार बङ्गलादेशी नेपाल भ्रमण गर्छन्, यसलाई बढाउन सकिन्छ ।” रासस/file photo