काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनको न्यायिक छानविन नहुन पनि सक्ने बताएका छन् । आज (शनिबार) थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँं शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले उक्त घटनाको छानविन भइरहेको बताए ।
प्रधानमन्त्री ओलीले उक्त घटनाको न्यायिक छानविन हुन पनि सक्ने र नहुन पनि सक्ने बताए । तर, सो घटनाको निष्पक्ष छानविन हुने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले सबै घटनामा न्यायिक छानविन आवश्यक नपर्ने बताए ।
‘छानबिन हुँदैछ, न्यायिक छानबिन हुन पनि सक्छ, नहुन पनि सक्छ । तर, छानबिन निष्पक्ष हुन्छ । सबै कुरामा न्यायिक छानबिन आवश्यक पनि हुँदैन,’– सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने ।
गत चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनमा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । उक्त प्रदर्शनमा प्रदर्शनकारीहरुले सार्वजनिक तथा निजी भवनहरु, व्यवसाय स्थल र सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटसमेत गरेका थिए । सो प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका २० जना अझै उपचाररत छन् ।




प्रतिक्रिया