काठमाडौं, २४ चैत । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आयोजनामा हुने प्रदर्शन तथा बृहत आमसभामा आफूहरुको साथ र समर्थन रहेको बताएका छन् । डा.गुरुङले एक विज्ञप्ति जारी गर्दै राप्रपाको उक्त प्रदर्शन तथा बृहत आमसभामा राष्ट्रिय झण्डासहित सहभागी हुन भनेका छन् ।
‘चैत २६ गते काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुने प्रदर्शन तथा बृहत आमसभाप्रति संयुक्त जनआन्दोलन समितिको साथ समर्थन रहेको छ,’– डा.गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
संयुक्त जनआन्दोलन समितिको आयोजनामा गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो । सो हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीबाट २० जना घाइते भएका थिए । सो प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईँ अझै फरार छन् ।
संयुक्त जनआन्दोलन समितिका संयोजक रहेका तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीलाई सरकारले विशेष निगरानीमा राखेपछि उनले डा.गुरुङलाई कार्यवाहक संयोजक तोकेका छन् ।




प्रतिक्रिया