काठमाडौं, चैत २६ । क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्नो विगत १३ आर्थिक वर्ष (आ.ब. २०६७/०६८ देखि २०७९/०८०) सम्मका साधारण सभाहरू एकैपटक सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष श्री तिलक बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा आर्थिक विवरण पारित गर्नुका साथै विभिन्न महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको हो।
नेपाल राष्ट्र बैंकले २०६९ सालमा क्यापिटल मर्चेन्टलाई समस्याग्रस्त संस्था घोषणा गरेपछि, साधारण सभा स्थगित हुँदै आएको थियो। संस्थाले वित्तीय अवस्था सुधार गर्दै लेखापरीक्षण प्रक्रिया पूरा गरी राष्ट्र बैंकको स्वीकृति पश्चात सबै रोकिएको साधारण सभा आज सम्पन्न गर्न सफल भएको हो।
सभाले विगत १३ वर्षको वित्तीय विवरण अनुमोदन गर्नुका साथै लेखा परीक्षक नियुक्ति, संचालक समिति पुनर्गठन, ऋण असुली प्रक्रिया, नाम परिवर्तन र गाभिने/प्राप्ति सम्बन्धी प्रस्तावहरू समेत पारित गरेको छ।
नयाँ संचालक समितिमा संस्थापक शेयरधनीबाट तिलक बहादुर रानाभाट, जगत राज खनाल र श्री रञ्जन रायमाझी निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीबाट निर्मल दाहाल र मोहन खड्का निर्विरोध निर्वाचित भएका छन्। स्वतन्त्र संचालकका रूपमा राजेश्वर श्रेष्ठ रहेका छन्।
सभामा प्रमुख कार्यकारी अधिकृत श्री प्रदीप भट्टराईले विगतका कार्यहरू र संस्थाको वर्तमान वित्तीय अवस्थाको बारेमा विस्तृत जानकारी गराउँदै आगामी दिनमा संस्थालाई पुनः सामान्य बैकिङ्ग कारोबारतर्फ अगाडि बढाउने लक्ष्य रहेको बताए। उनले नेपाल राष्ट्र बैंकमा संस्थालाई समस्याग्रस्त सूचीबाट हटाउन आवश्यक प्रस्ताव पेश गर्ने तयारी भइरहेको जानकारी समेत दिएका छन्।




प्रतिक्रिया