नेपाल बार निर्वाचनः अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता मिश्रले बढाए मतान्तर


काठमाडौँ, २५ चैत । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । बारको नयाँ कार्यसमितिका लागि गत शनिबार मतदान भएको थियो ।

बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।

अहिलेसम्म झापा, इलाम, विराटनगर, मोरङ, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, पर्सा, हेटौडा, बागलुङ, सिराहा, सर्लाही, रौतहट, बारा, तनहुँ र स्याङ्जाको मत मतगणना सकिएको छ ।

उक्त मत गणनामा अध्यक्षका प्रतिस्पर्धी बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रले ९ सय ३३ मत पाएका छन् भने व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले ५ सय ५६ मत प्राप्त गरेका छन् । वरिष्ठ अधिवक्ताद्वय मिश्र र श्रेष्ठबीचको मतान्तर ३ सय ७७ रहेको छ ।

त्यस्तै, बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट महासचिवको उम्मेदवार केदार कोइरालाले ९ सय २७ मत र व्यावसायिक कानुन व्यवसायी समूहका उम्मेदवार यज्ञमणि न्यौपानले ४ सय ८७ मत पाएका छन् ।