राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्तिहरु दलको राजनीतिमा फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्छः माधव नेपाल


काठमाडौं, २६ चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिहरु राजनीतिमा फर्किएको खण्डमा राज्यले दिने सुविधा कटौती गर्नुपर्ने बताएका छन् ।

आज (मंगलबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति वा उपराष्ट्रपतिको भूमिका निर्वाह गरिसकेका व्यक्तिहरु दलको सक्रिय राजनीतिमा फर्किनु नै उपयुक्त नहुने बताए ।

राष्ट्रपति र उपराष्ट्रपति दलको सक्रिय राजनीतिभन्दा बाहिरको पद रहेको पनि उनले बताए । अध्यक्ष्य नेपालले राष्ट्रपति भएपछि राजनीतिबाट बिदा हुनुपर्ने भएकाले आफूले उक्त पद स्वीकार नगरेको दाबी गरे ।

साथै, फरक प्रसंगमा अध्यक्ष नेपाले नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताए । उनले औचित्यहीन राजतन्त्र पुनर्स्थापना नहुने दाबी गरे । ‘औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छ,’ उनले भने ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सहमतिमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको उनले बताए । नेता नेपालले संविधान संशोधन आवश्यक रहेको पनि बताए ।