अशक्त र मानसिकस्थिति बिग्रेको मान्छे देशको चालक छ, कुन भङ्गालमा खाँद्ने हो ठेगान छैनः राप्रपा नेता सिंह


काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले अस्पतालमा औषधि उपचार गरेर बस्नुपर्ने अशक्त र मानसिकस्थिति बिग्रेको मान्छे देशको चालक रहेको टिप्पणी गरेका छन् । राप्रपाले आज बल्खुमा आयोजना गरेको वृहत आमसभालाई सम्बोधन गर्दै उनले अशक्त र मानसिकस्थिति बिग्रेको मान्छेले कतिखेर देशलाई भङ्गालमा हालिदिने हो भन्ने डर रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै नेता सिंहले भने, ‘अस्पतालमा के–के औषधि उपचार गर्नका लागि बस्नुपर्ने अशक्त, मानसिकस्थिति बिग्रिसकेको मान्छे यो देशको चालक छ । कुन भङ्गालमा खाँद्ने हो, ठेगान छैन ।’

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्रीसमेत रहका प्रतिनिधि सभा सदस्य डा.धवलशमशेर जबरालाई सरकारले निशर्त छाड्नुपर्ने उनको माग छ । मिश्र र जबरालाई निशर्त नछाडिए सरकारले महँगो मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए । जनता यसैगरी सडकमा आएको खण्डमा दुई तिहाइको दम्भ देखाउने नेताहरुले देश छाडेर भाग्नुपर्ने दिन चाँडे आउने उनले उद्घोष गरे ।