काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । आज (मंगलबार) बल्खुमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले प्रहरी प्रमुख थापा एमालेको युवा संघको सहअध्यक्ष रहेको दाबी गरे । राजावादी समूहहरुले तीनकुनेमा गरेको प्रदर्शनबारे प्रहरी प्रमुख थापा निर्लज्ज रुपमा प्रस्तुत भएको उनको आरोप छ । तीनकुनेको हिंसात्मक घटनाको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख थापाले लिनुपर्ने उनले बताए ।
‘प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार छन् । गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान्, भनेको त, अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ । हामीले भेटेको खोकाहरु, अश्रु ग्यासको सेलको बोक्राहरु, जहाँ एक्सपाइरी डेट २००८ लेखिएको छ, २०१०, १२ लेखिएको छ । त्यो दुर्गा प्रसाईँहरुले बोकेर ल्याएर हानेको अश्रु ग्यास हो ? अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक के भन्छ– हामीले हानेको अश्रु ग्यास कसरी डेट एक्पाएर भएको हुन्छ ?’ प्रश्न गर्दै उनले भने ।
साथै, अध्यक्ष लिङ्देनले प्रहरी प्रमुख थापालाई फुली लगाइदिने दलका नाइकेहरु सधैं सत्तामा रहँदैनन् भन्ने कुराको हेक्का राख्न आग्रह गरे । उनले भने, ‘म भन्न चाहन्छु– प्रहरी, प्रहरी भएर बस्नुपर्छ । कुनै राजनीतिक दलको भातृ संगठन भएर बस्ने होईन । तपाईँलाई त्यो फुली लगाइदिने दलका नाइकेहरु र सिफारिस गर्नेहरु सधैं सत्तामा रहँदैनन् । तिनीहरुको सधैं हालिमुहाली चल्दैन । यो कुरा याद राख्नु, प्रहरी, प्रहरी भएर बसोस् ।’




प्रतिक्रिया