काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इतिहासमा थन्किएको राजतन्त्र अब कहिल्यै पनि नफर्किने बताएका छन् । आज (मंगलबार) कांग्रेस गुल्मी जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले अब नेपालमा राजतन्त्रको अध्याय नै बन्द भइसकेको बताएका हुन् । उनले राजतन्त्रको बारेमा यतिधरै चर्चा परिचर्चा आवश्यक नरहेको बताए ।
‘इतिहासमा हामीले थन्काइसकेको, इतिहासमा टुङ्ग्याइसकेको, अब भयो, पुग्यो भनेर हामीले एक ठाउँमा टुङ्ग्याइसकेको विषयका बारेमा नेपाल अल्मलिने होइन । नेपालसँग त्यो सुविधा छैन । गयो अब, महाराज हिजो होइबक्सन्थ्यो, गइबक्स्यो, सकियो अब । त्यो अध्याय बन्द,’– उनले भने ।
एकथरी मान्छेहरुले नागरिकमा रहेको निराशा र असन्तुष्टिसँग खेलेर राजतन्त्रको पक्षमा गतिविधि गरिरहेको उनले बताए । आगोमा मट्टितेल हाल्ने उनीहरुको प्रयास कदापि सफल हुन नसक्ने महामन्त्री थापाको दाबी छ । अब छलफलको विषय नेपालमा नयाँ रोजगारी कसरी सिर्जना गर्ने भन्नेमा हुनुपर्ने उनले बताए । अर्का महामन्त्री विश्वप्रकाश शर्मा र आफूले ‘मिसन रोजगारी’ को अभियान नै सञ्चालन गरिरहेको उनले बताए ।




प्रतिक्रिया