काठमाडौं, २७ चैत । नेपाल शिक्षक महासंघका सचिव बिर्ख बहादुर मल्लले शिक्षकहरुको माग र मुद्दा सम्बोधन भएको शिक्षा ऐन लिएर मात्रै कार्यक्षेत्रमा फर्किने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शिक्षकहरुको माग र मुद्दा सम्बोधन भएको शिक्षा ऐन जारी नभएसम्म अहिलेको आन्दोलन जारी रहने बताएका हुन् ।
‘नेपाल सरकारसँग २०७५, ०७८ र ०८० मा भएको सम्झौताअनुसार हाम्रा माग सम्बोधन भएको शिक्षा ऐन हाम्रो हातमा नआउन्जेलसम्म हाम्रो आन्दोलन निरन्तर रूपमा जारी रहन्छ । आज हामी आठौं दिन आन्दोलनमा छौं । आन्दोलनमा एकशुत्रीय माग छ नेपाल सरकारसँग । हाम्रो माग र मुद्दा सम्बोधन भएको शिक्षा ऐन जारी हुनुपर्छ । त्यो शिक्षा ऐन लिएरमात्रै फर्कने आम शिक्षकहरु आन्दोलित छन्,’– उनले भने ।
साथै, उनले यस वर्ष आफूहरु सरकारसँग वार्ता गरेर कार्यक्षेत्रमा फर्किने मनस्थितिमा नरहेको बताए । उनले गत वर्षको वार्तामा सरकारले ‘शिक्षकहरुको माग र मुद्दा छिट्टै सम्बोधन गर्छौं’ भनेकोमा एक वर्ष भइसक्दा कुनै पनि काम हुन नसकेको बताए । तत्काल संसद्को विशेष अधिवेशन बोलाएर भएपनि आफूहरुको माग र मुद्दा सम्बोधन भएको शिक्षा ऐन जारी हुनुपर्ने उनले बताए ।
‘अहिले सडकमा आएरपछि मात्रै सरकारले हामीलाई बुझ्यो । हामी निरन्तर रुपमा आन्दोलनमा छौं । पार्टी कार्यालयहरु, प्रमुख सचेतकज्यूहरु, दलका मुख्य नेताहरुलाई पनि हामीले विगत पाँच÷छ महिनादेखि भेट्दै आएका छौं । हाम्रा माग सुनुवाइ नगरेर अधिवेशन अन्त्य गरिएको छ । विशेष अधिवेशन तत्काल बोलाएर भएपनि हाम्रा माग र मुद्दा सम्बोधन हुनुपर्छ भनेर हामी आन्दोलनमा आएका छौं । हामीलाई आन्दोलन गर्ने कुनै रहर छैन । विद्यालयमा जाने, रिजल्ट गर्ने, पढाउने कुरामा हामी आतुर छौं,’– सचिव मल्लले भने । File Photo/RN




प्रतिक्रिया