काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको जिउज्यान र मानवअधिकारको रक्षाको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ । रास्वपाका प्रमुख सचेतक, सांसदहरु, केन्द्रीय सदस्य, प्रदेशका सभापतिहरुलगायतको नेताहरु राष्ट्रिय मानव अधिकार आयोग पुगेर अध्यक्ष तोपबहादुर मगरलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मानव अधिकार आयोगका अध्यक्ष मगरले उक्त घटनाको छानविन गरी आवस्यक कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको बताए । ‘अध्यक्षज्यूबाट यो मानव अधिकार हनन्को घटनामा राष्ट्रिय मानव अधिकार आयोगले छानविन गर्छ र आवश्यक काम कारबाही अगाडि बढाउँछ भन्ने प्रतिवद्धता दिनुभएको म जानकारी गराउन चाहन्छु,’– ज्ञापनपत्र बुझाएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यवाहक महामन्त्री बुर्लाकोटीले भने ।
रास्वपाले लामिछानेविरुद्ध अशोभाविक, अशोभनीय, गैरकानुनी कार्य भएको, प्रहरीले असामान्य व्यवहार गरी अभद्र शैली अपनाएको, अनुमतिविनै घरभित्र प्रवेश गरेको, सयन कक्षमै पुगेर धरपकड गरेकोलगायतको विषय ज्ञापनपत्रमा उल्लेख गरेको छ । लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश कार्यान्वयन गराउन प्रहरीले गत चैत २२ गते राती पक्राउ गरेको थियो ।





प्रतिक्रिया