काठमाडौं, २७ चैत । नेपाली कांग्रेसका नेता हृदयराम थानीले सरकारको कमीकमजोरीका कारण तीनकुनेको हिसात्मक प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको बताएका छन् । आज (बुधबार) प्राइम टाइम्स टेलिभिजनको प्राइम संवादमा पत्रकार कृष्ण मल्लसँग संवाद गर्दै उनले तीनकुनेको घटनामा सरकारको थुप्रै कमिकमजोरी रहेको बताएका हुन् । ‘सरकारको कमीकमजोरीले गर्दा चाहे सविन महर्जनलाई गोली लागेको अवस्था होस्, सुरेश रजक पत्रकारलाई घरभित्रै राखेर आगोसमेत निभाउन नसक्ने सरकारले । कमिकमजोरी छ सरकारको । सरकारको कमीकमजोरीलाई मैले ढाकछोप गर्ने कुरा छैन,’– उनले भने ।
नेता थानीले राजावादी समूहको आन्दोलनबाट देशमा राजसंस्था पुनर्स्थापना र हिन्दुराष्ट्र सम्भव नरहेको बताए । उनले चुनावमार्फत दुई तिहाइ बहुमत ल्याएर आफूले चाहेअनुकूल संविधान फेर्न राजावादीहरुलाई चुनौति दिए । ‘चुनावमा गएर दुई तिहाइ ल्याएर संविधान परिवर्तन गरे भयो । जे–जे चेन्ज गर्नुपर्ने छ गरे भइगयो त । कसले रोकेको छ र ? दुई तिहाइ त ल्याउन सक्नुपर्यो नि,’– उनले भने ।
गत चैत १५ गते तीनकुनेमा राजावादी समूहरुले शान्तिपूर्ण प्रदर्शन एवं आमसभा आह्वान गरेका थिए । तर, उक्त प्रदर्शन हिंसात्मक बन्दा पत्रकार रजकको जलेर र अर्का प्रदर्शनकारी महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले व्यक्तिको घर, व्यवसायिक स्थल, सरकारी सम्पत्ति लुटपाट, आगजनी र तोडफोडसमेत गरेका थिए । प्रहरीले उक्त हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अहिलेसम्म ७५ जनालाई पक्राउ गरिसकेको छ ।
त्यस्तै, फरक प्रशंगमा कांग्रेस नेता थानीले कम्युनिष्ट भनिएका नेपालका राजनीतिक दलहरु कोही पनि कम्युनिष्ट आचरणभित्र नरहेको बताए । ‘कम्युनिष्ट भनेका अहिले कम्युनिष्ट नै हुन् त ? नाम जेसुकै राख्न दिनुस् न, कम्युनिष्ट ब्यालेटमा आउँछ ? मतपत्रमा आउँछ ? नाम हो, कम्युनिष्ट भन्नु भएको छ । सबै कुरा परिमार्जित गरेर देशको समयअनुकूल बुझेर नै आउनु भएको छ,’– उनले भने ।




प्रतिक्रिया