काठमाडौँ, २७ चैत । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । बारको नयाँ कार्यसमितिका लागि गत शनिबार मतदान भएको थियो । अहिलेसम्म झापा, इलाम, विराटनगर, मोरङ, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, पर्सा, हेटौडा, बागलुङ, सिराहा, सर्लाही, रौतहट, बारा, तनहुँ र स्याङ्जा, जनकपुर, कपिलवस्तु, नवलपरासी, बुटवल, रूपन्देही र पाल्पा, चितवन, दाङ देउखुरी, दाङ तुलसीपुर, जुम्ला, धनगढी, दिपायल, महेन्द्रनगर, डँडेलधुरा, नेपालगञ्ज, काठमाडौं, पाटनलगातको मत मतगणना भएको छ ।
उक्त मत गणनामा अध्यक्षका प्रतिस्पर्धी बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रले ४ हजार २ सय ७२ मत पाएका छन् भने व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले १ हजार ८ सय ४३ मत प्राप्त गरेका छन् । वरिष्ठ अधिवक्ताद्वय मिश्र र श्रेष्ठबीचको मतान्तर २ हजार ४ सय २९ (दोब्बरभन्दा बढी) रहेको छ ।
बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।




प्रतिक्रिया