पाथीभरामा केबलकार बनाउन कुनै अवरोध छैन, एक वर्षभित्र सबै काम सकिन्छः चन्द्र ढकाल (भिडिओसहित)


काठमाडौं, २८ चैत । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले अबको एक वर्षभित्र ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणकार्य सम्पन्न हुने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केवलकार निर्माणका क्रममा देखा परेको सबै विवादको समाधान भइसकेको र अब निर्धारित समयमै सम्पन्न गर्न सकिने वातावारण बनेको बताएका हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले केबलकार निर्माण कार्यमा स्थानीय सरकार, जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायी, नागरिक समाज, अधिकांश स्थानीय र ताप्लेजुङबासीको साथ र सहयोग रहेको बताए । ‘अब एक वर्षमा काम सबै पूरा हुन्छ । बीचमा अलिकति अवरोध भएको थियो । अहिले केही अवरोध पनि छैन । एक वर्ष जतिमा पाथिभरामा केबलकार बन्छ । सबै प्रक्रियाहरु पूरा भइसकेको छ, रूखहरु सबै काटिएको छ । बटम स्टेसनको पनि काम भइसकेको छ । यस्तो किसिमको आयोजना सञ्चालन गर्दा केही विवाद आउने नै गर्छ । त्यो सामान्य कुरा हो,’– उनले भने ।

केवलकारको विरोध गर्नेहरुले नै अहिले बन्नुपर्ने रहेछ भन्ने निष्कर्षमा पुगेको अध्यक्ष ढकालको दाबी छ । पाथीभरामा केबलकार बन्दाखेरी त्यहाँका गतिविधि, त्यहाँका जनताले पाउने रोजगारी, स्थानीय सरकारले पाउने राजश्व, पर्यटकीय गतिविधिलगायतका कोशी प्रदेशकै अर्थतन्त्रमा ठूलो योगदान पुग्ने उनको दाबी छ । File Photo/RN