प्रधानमन्त्री ओलीले देशलाई ऋणमा डुबाएको गगनको दाबी, ऋण लिएर घिउ खाएको आरोप


काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत २०७४ सालमा केपी शर्मा ओलीको नेतृत्वमा बनेको नेपाल कम्युनिष्ट पार्टीको सरकारले ऋण लिएर घिउ खाएको टिप्पणी गरेका छन् । पार्टीको रुपन्देही क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिले देश ऋणमा डुब्नुको प्रमुख दोषी नै त्यो बेलाको सरकार रहेको बताएका हुन् ।

तत्कालीन सरकारले ऋण लिएर नचाहिने काममात्रै गरेको महामन्त्री थापाले बताए । तत्कालीन सरकारले भयानक गल्ती गरको र त्यसलाई सुधार गरेर जानुपर्ने जिम्मेवारी आफूहरुमाझ आएको बताए । उनले तत्कालीन ओली सरकारले प्रत्येक पालिकामा अस्पताल भनेर हावाको भरमा बिल्डिङ बनाएको बताए ।

‘हामीलाई तर्साइएको छ । हामी ऋणमा डुब्यौं भनेर तर्साइएको छ । हामीले ऋण लिएर घिउ खान हुँदैन । ऋण लिएर घिउ खाने डुब्छ । ऋण लिएर ठीक ठाउँमा लगानी गर्नेले त्यसको प्रतिफल पाउँछ । हामीले गल्ती के गरेको हो ? २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टीको सरकार बनेपछि भयानक गल्ती उहाँहरुले गर्नुभएको छ । ऋण लिएर नचाहिने ठाउँमा नचाहिने भवन बनाएको छ । नचाहिने पूर्वाधारमा लगानी गरेको छ । प्रत्येक पालिकामा अस्पताल भनेर हावामा बिल्डिङ बनाइदिएको छ । गल्ती भएको छ । यसलाई हामी सच्याउँछौं,’– उनले भने ।