नेपाली जनताले बोलेको कुरा सुनुवाइ हुने गणतन्त्र खोजेका छन्ः राजीव ढुङ्गाना


काठमाडौं, २८ चैत । नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व अध्यक्ष राजीव ढुङ्गानाले नेपाली जनताले बोल्न पाउनेमात्रै गणतन्त्र नखोजेको बताएका छन् । आज (बिहीबार) नेविसंघले काठमाडौंमा आयोजना गरेको ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्वको अपरिहार्यता’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताले बोलेको कुरा कार्यान्वयन हुने गणतन्त्र चाहेको बताए । बोलेको कुरा सुनुवाइ हुने गणतन्त्रमात्रै सार्थक हुने उनको भनाइ छ ।

‘जनताले अब बोल्न पाउने गणतन्त्रमात्रै खोजेका छैनन् । बोलेका कुरा सुनुवाइ हुने गणतन्त्र खोजेका छन् । त्यो गणतन्त्रमात्रै सार्थक हुन्छ । त्यो गणतन्त्र हामी दिन सक्ने कि नसक्ने ? आज भ्रष्टाचारले जनता आक्रान्त भएका छन् । महँगीले जनताको ढाड भाँचिएको छ । देशमा सुशासन राम्रोसँग देख्न पाइएको छैन । त्यसको प्रत्याभूति हामी दिन लाग्ने कि नलाग्ने ? अब नेपाल विद्यार्थी संघले त्यसको नेतृत्व गर्नुपर्छ,’– उनले भने ।

गणतन्त्रको नाममा भएका कमीकमजोरी सच्याउने समय आएको पनि उनले बताए । गणतन्त्र राम्रो व्यवस्था हुँदाहुँदै पनि राम्रोसँग डेलिभरी दिन नसकेको कारण असन्तुष्टि जन्मिएको उनले बताए । उनले नेपाल विद्यार्थी संघले अब नेपाली कांग्रेसभित्रको वाच डगको रुपमा भूमिका निर्वाह गर्नुपर्ने बताए । अब यो व्यवस्थालाई नेपाली जनताले चाहेको गणतन्त्र बनाउनुपर्ने उनले बताए ।

‘नेपाली जनताले गणतन्त्र त चाहेका हुन् । तर, गणतन्त्रको नाममा भद्रगोलतन्त्र चाहेका होइनन् । यो गणतन्त्रलाई परिष्कृत गर्नुपर्छ । भ्रष्टाचार गर्नेलाई तुरुन्त दण्डित गर्ने व्यवस्था गर्नुपर्छ । यो गणतन्त्रमा सुशासन हुनुपर्छ । जनताको ढाँड महँगीले भाँचिन हुँदैन । यो गणतन्त्रमा राज्यबाट प्राप्त हुने सेवा सुविधा हरेक नेपालीले पाउनुपर्छ । कुनै नेता, व्यापारीका छोराछोरी भए भन्दैमा राज्यका सुविधा पहिला पाउने, अनि जनताका छोराछोरी पर्खेर पछिल्लो तहमा उभिने त्यो गणतन्त्र चाहीँ अब हामी पनि चाहँदैनौं भनेर खबरदारी गर्नुपर्ने आवश्यक्ता छ,’– उनले भने ।