राजावादीहरुको प्रदर्शनका क्रममा आपराधिक कार्यमा संलग्न भएको आरोपमा थप ३ जना पक्राउ


काठमाडौं, २८ चैत । गत चैत १५ गते राजावादी समूहले आह्वान गरेको कार्यक्रममा सहभागी भएर तोडफोड, आगजनीलगायतका कार्यमा संलग्न भएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको वुटवल उपमहानगरपालिका–९ का ३१ वर्षीय शिशिर जिसी, कैलालीको धनगढी उपमहानगरपालिका–२ का ६१ वर्षीय डण्डपाणी रेग्मी र सिराहा मिर्चेया नगरपालिका–६ का ४६ वर्षीय मनोज कुमार सापकोटा रहेका छन् ।

काठमाडौं जिल्ला अदालतबाट २ दिनको म्याथ थप अनुमति लिइ उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तीनकुनेको उक्त घटनामा पक्राउ पर्नेको संख्या ७८ पुगेको छ । पक्राउ परेकामध्ये २० जनामाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको र बाँकीलाई आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।