प्रहरीको गोली लागेर घाइते भएकी रेविकाको शिक्षादीक्षा र रोजगारीको जिम्मा नेविसंघले लिने अध्यक्ष शेर्पाको उद्घोष


काठमाडौं, २८ चैत । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीको शिक्षादीक्षा र रोजगारीको जिम्मा नेविसंघले लिने उद्घोष गरेका छन् । आज (बिहीबार) काठमाडौंमा नेविसंघले आयोजना गरेको ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्वको अपरिहार्यता’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले रेविकाको न्याय, शिक्षादीक्षा र रोजगारीको जिम्मा नेविसंघले लिने बताएका हुन् ।

‘त्यो घटनामा कोटेश्वर क्याम्सकी विद्यार्थी रेविका खत्री प्रहरीको गोली लागेर घाइते हुनु भएको छ । रेविका खत्रीको न्याय, शिक्षादीक्षा र उनको आजीवन रोजगारसँग जोड्नका लागि त्यसको जिम्मा आजको दिनमा नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले लिने घोषणा गर्न चाहन्छु,’– उनले भने ।

रेविका कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्यनरत विद्यार्थी हुन् । गत चैत १५ गते राजावादी समूहले आयोजना गरेको हिंसात्मक प्रदर्शनको क्रममा आफ्नो घर फर्किइरहेकी रेविकालाई प्रहरीको गोली लागेको थियो । रेविकाको उपचार र न्यायको लागि अभियान चलाएको भन्दै अध्यक्ष शेर्पाले कोटेश्वर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) का सभापति संजय बुढाथोकीलाई धन्यवाद पनि दिए ।