काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले नेपालका लागि राजा अब दन्त्य कथा भइसकेको बताएका छन् । आज (बिहीबार०) काठमाडौंमा नेविसंघले आयोजना गरेको ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्वको अपरिहार्यता’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजाको बारेमा अब रमाइलोको लागि गफमात्रै गर्न सकिने बताएका हुन् । दन्त्य कथा सुन्दा रमाइलो भएजस्तै राजाको बारेमा पनि गफ गरेर रमाइलो लिन सकिने उनले बताए ।
‘नेपालमा अब दन्त्य कथा भएको ठान्नुस् । उहिले, एक जमानामा यस्तो थियो भन्ने खालको । नेपालमा राजा थियो भन्ने दन्त्य कथा भयो । अब त्यसबारे धेरै चिन्ता गर्नुपर्दैन । रमाइलोको लागि यस्तै गफ गर्दा हुन्छ,’– उनले भने ।
नेता सिटौलाले पूर्वराजा ज्ञानेन्द्रलाई शान्त भएर बस्न र मान्छे नउचाल्न चेतावनी दिए । गत चैत १५ गतेको तीनकुने घटना आफूहरुलाई पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा भएको सङ्का लागिरहेको पनि उनले बताए । यसबारेमा आफ्नो धारणा सार्वजनिक गर्न पनि नेता सिटौलाले पूर्वराजालाई सुझाव दिए ।
‘शान्त भएर बस्नुस्, त्यसैमा तपाईँको कल्याण छ । धेरै छट्पट नगर्नुस्, धेरै मान्छेलाई नउचाल्नुस् । तपाईँको उक्साहटमा अस्ती घटना घट्यो भन्ने हामीलाई लागेको छ, मलाई लागेको छ । तपाईँको उक्साहट होईनभने भनिदिनुस् मेरो उक्साहट होइन भनेर,’– उनले भने ।




प्रतिक्रिया