काठमाडौं, २९ चैत । मानवअधिकारकर्मी तुलसी थापाले गत चैत १५ गतेको तीनकुने घटनामा राज्यको तर्फबाट मानवअधिकारको चरम उल्लङ्घन गरेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रिय गान बजिरहेको बेलामा प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीडलाई उत्तेजित गराएको र हिंसा भड्काएको बताएका हुन् ।
‘त्यहाँ आमसभा भइरहेको थियो । त्यहाँ म पनि थिएँ । त्यहाँ राष्ट्रिय गान गाइरहेको थियो । त्यही बेलामा नै आश्रु ग्यास फालिएको छ । फायर गरिएको छ । ७८० भन्दा बढी आश्रु ग्यासको सेलहरु प्रयोग भएको छ । जबकी संसारको कुनै पनि ठाउँमा राष्ट्रिय गान गाइरहेको बेलामा त्यहाँ गोली प्रहार, अश्रु ग्यास, लाठी चार्ज गर्ने अधिकार कसैलाई छैन । त्यो मानवअधिकारको चरम उल्लङ्घन हो,’– उनले भने ।
साथै, उक्त घटनामा जो–जो संलग्न रहेको भएपनि कारबाहीको दायरामा ल्याइनुपर्ने उनले बताए । पूर्वराजा ज्ञानेन्द्रको संलग्नता छ भनेर पनि राज्यले कारबाही गर्न हिचकिचाएको उनले बताए । ‘त्यो कुरामा राजाको प्रत्यक्ष संलग्नता छ भने किन कारबाही गर्न पछि परिराखेको छ ? राज्य किन हिचकिचाउनुपर्ने आवश्यकता छ ? दिइएको सुरक्षा संयन्त्रलाई पनि फेरबदल गरेर त्यहाँ संख्या पनि घटाइएको छ,’– उनले भने ।
उक्त प्रदर्शनका क्रमममा कलेजबाट फर्किँदै गरेको विद्यार्थीमाथिसमेत प्रहरीले गोली हानेको उनले बताए ।




प्रतिक्रिया