दुर्गा प्रसाईँका अंगरक्षक दीपक खड्का पनि पक्राउ


काठमाडौं, २९ चैत । प्रहरीले दुर्गा प्रसाईँसँगै उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार प्रसाईँ र उनका अंगरक्षक खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएको हो ।

उनीहरुलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको बताइएको छ । गत चैत १५ गते राजावादी समूहले काठमाडौंका तीनकुनेमा आयोजना गरेको आमसभा हिंसात्मक प्रदर्शनमा परिणत भएको थियो । राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन परिचालन समितिले प्रसाईँलाई उक्त प्रदर्शनमा जनकमाण्डर बनाएर पठाएको थियो ।

भीडलाई उत्तेजित बनाएर प्रसाईँ प्रहरीको सुुरक्षा घेरा तोडेर भाग्न सफल भएका थिए । प्रसाईँको सचिवालयले उनलाई भारतको आसाम राज्यबाट हिजो नै पक्राउ गरिएको दाबी गरेपनि प्रहरीले भने आज झापाको भद्रपुरबाट पक्राउ गरिएको बताएको छ ।