दुर्गा प्रसाईँलाई आजै काठमाडौं ल्याइने


काठमाडौं, २९ चैत । प्रहरीले दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार प्रसाईँ र उनका अंगरक्षक दीपक खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएको हो ।

उनीहरुलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइने तयारी रहेको बताइएको छ । प्रसाईँलाइृ आज दिउँसो १ बजेसम्म प्लेनमार्फत काठमाडौं ल्याइने बताइएको छ ।

गत चैत १५ गते राजावादी समूहले काठमाडौंका तीनकुनेमा आयोजना गरेको आमसभा हिंसात्मक प्रदर्शनमा परिणत भएको थियो । राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन परिचालन समितिले प्रसाईँलाई उक्त प्रदर्शनमा जनकमाण्डर बनाएर पठाएको थियो ।

भीडलाई उत्तेजित बनाएर प्रसाईँ प्रहरीको सुुरक्षा घेरा तोडेर भाग्न सफल भएका थिए । प्रसाईँको सचिवालयले उनलाई भारतको आसाम राज्यबाट हिजो नै पक्राउ गरिएको दाबी गरेपनि प्रहरीले भने आज झापाको भद्रपुरबाट पक्राउ गरिएको बताएको छ । उक्त घटनामा क्षतिभएको ४६ करोड र दुई जना व्यक्तिको मृत्युमा प्रसाईँलाई जिम्मेवार बनाउने राज्यको तयारी रहेको बताइएको छ ।