काठमाडौं, २९ चैत । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँको नाममा उदाएका दलहरु विचार, उद्देश्य, दृष्टिकोण र गन्तव्यविहीन रहेको बताएका छन् । आज (शुक्रबार) बुटवलमा आयोजित नेकपा (एमाले) को कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ नामको अवसरवाद र लोकप्रियतावाद हाबी भएको बताएका हुन् । मन्त्री पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै नयाँ भनिएकाहरुलाई ‘गणतन्त्रको पक्षमा छौं कि राजतन्त्रको पक्षमा’ भन्यो भने मुख खोलेर बोल्न नसक्ने दाबी गरे ।
‘पछिल्ला दिनहरुमा अहिले जुनखालको प्रवृत्ति देखापरेको छ, लोकप्रियतावाद । नयाँका नाममा । हामीले पार्टी खोल्ने व्यवस्था निर्माण गरेका थियौं । नयाँका नाममा केही पार्टीहरु पनि आए । ती नयाँ भनेपछि के–के न गर्छन् कि क्या हो भनेर फारकफुरुक गर्दैथिए । तर, यहाँहरुले देख्नुभएको छ–त्यो नयाँ कुन अवस्थामा छ ? त्यो नयाँ भन्नेसँग न विचार छ, न उद्देश्य छ, न दृष्टिकोण छ, न आदर्श छ, न गन्तव्य छ ? नयाँ भन्नेलाई तिमी गणतन्त्रको पक्षमा छौं कि राजतन्त्रको पक्षमा भन्यो भने मुख खोलेर भन्न सक्दैन,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले एमाले र केपी शर्मा ओलीलाई भित्तामा टाँस्छौं भन्नेहरु आज आफैं भित्तामा टाँसिएको बताए । एमाले र एमालेका अध्यक्ष ओली देशभित्रको आक्रमण, देशबाहिरको आक्रमण, पार्टीभित्र, पार्टी बाहिर र प्रतिक्रियावादीहरुको आक्रमणलाई परास्त गरेर गरेर अगाडि बढेका उनले बताए ।
‘भित्तामा टाँस्छौं भन्नेहरु आज भित्तामा टाँसिने अवस्था सिर्जना भएको छ । जसले हिजो केपी शर्मा ओलीलाई भित्तामा टाँस्छु भन्थे, एमालेलाई भित्तामा टाँस्छु भन्थे । आज उनीहरु आफैं भित्तामा टाँसिने अवस्थामा पुगेका छन् । त्यो विषम परिस्थितिमा देशभित्रको आक्रमण, देशबाहिरको आक्रमण, पार्टीभित्रको आक्रमण, पार्टी बाहिरको आक्रमण, प्रतिक्रियावादीहरुको आक्रमण, अवसरवादीहरको आक्रमण साह्रा आक्रमणलाई परास्त गरेर अगाडि बढेको पार्टी हो । यस हिसाबले हामी जाँदैछौं । देशको भविष्य उज्यालो छ, जनताको भविष्य उज्यालो छ,’– उनले भने । File Photo/RN




प्रतिक्रिया