काठमाडौं, ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री डा.प्रकाशचन्द्र लोहनीले गत चैत १५ गते तीनकुनेमा आयोजना भएको आन्दोलन आफ्नो पार्टीले गरेको दाबी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो पार्टीले गरेको प्रदर्शनमा सरकारले घुसपैठ गरेको र भाँड्नका लागि पूरै राज्य संयन्त्र लागेको बताएका हुन् ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीले शान्तिपूर्ण सभा गरेकोमा त्यसलाई तोड्न, त्यसमा घुसपैठ गरेर, त्यसलाई भाँड्नका लागि नेपाल सरकार पूरा लाग्यो । १५ गतेको आन्दोलनमा । त्यो राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको हो । म पनि गएको थिएँ,’– उनले भने ।
‘१५ गतेको आन्दोलनका जिम्मा राप्रपाले लिन्छ ?’ भन्ने प्रश्नमा नेता लोहनीले उक्त घटनाको जिम्मा सरकारले लिनुपर्ने बताए । चार हजार मान्छेलाई तह लगाउन राज्यले चार हजार नै प्रहरी परिचालन गरेको, प्रत्येक ५ जना मानिसहरुको लागि एउटा अश्रु ग्यास प्रहार गरेको र ५० जना प्रदर्शनकारीका लागि एउटा गोली हानेको उनले बताए । उक्त घटनामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले नेपाल जनताविरुद्ध काम गरेको उनले आरोप लगाए ।
‘राप्रपा त थियो नि त त्यहाँ । हामी थियौं राप्रपा । सबै थिए नि त । त्यसमा नेपाल सरकारले जुन बर्बर तरिकाले गर्यो नि, चार हजार मान्छेलाई तह लगाउनका लागि ४ हजार पुलिस । ५ जनाको लागि एउटा अश्रु ग्यास । ५० जनाको लागि एउटा गोली । यसरी तहसनहस पारेर आफ्ना भिजितान्ते पठाएर नेपाल सरकारले गर्यो । नेपाल सरकारको मन्त्री, अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले नेपाली जनताविरुद्ध काम गरेको भनेर आरोप लगाउनुपर्छ अब,’– उनले भने ।




प्रतिक्रिया