काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले गत चैत १५ गतेको घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । हिजो (शुक्रबार) बसेको कानून समितिको बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका जीवन परियारले सो घटनाबारे सोध्न पूर्वराजा ज्ञानेन्द्रलाई समितिको बैठकमा बोलाउन प्रस्ता गरेका थिए । उक्त प्रस्तावलाई लिएर चौतर्फी आलोचना भइरहेको बेला वरिष्ठ अधिवक्ता भट्टराईले संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा पूर्वराजालाई संसदीय समितिमा सिधै बोलाउन नमिल्ने बताएका हुन् ।
वरिष्ठ अधिवक्ता भट्टराईले भनेका छन्, ‘पूर्व राजालाई संसदीय समितिमा बोलाउन मिल्छ ? हिजोको संसदीय समितीमा गत चैत्र १५ गते राजावादीले मच्याएको अमानवीय बितण्डबारेमा ज्ञानेन्द्र शाहलाई बोलाउनु पर्ने बिषयमा भएको छ्लफल र माननीय जीवन परियार लगायतले राख्नु भएको मतको सम्मान गर्नुपर्दछ । पूर्व राजाको कानुनी हैसियत केवल एक नागरिक सरह भएकोले त्यो बिषयमा संसदीय समितिले उनलाई सिधै बोलाउन सक्ने कुरा छफल योग्य नै हो । तर मेरो विचारमा संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा त्यसो गर्न मिल्दैन, किन ?
१.उनी केवल नागरिक हुन्, संसद् नागरिक प्रती उत्तरदायी हुन्छ र सरकार जनताप्रति जवाफदेही हुन्छ।
२.संसद्ले कार्यकारी अधिकार नभएको एउटा नागरिकलाई सिधै संसदमा बोलाउन मिल्दैन । त्यसो गरिएमा स्वयं संसदीय गरिमाको मुल्य मान्यातामा प्रश्न उठ्छ।
३.कार्यकारी अधिकार सरकारमा भएको हुनाले त्यो बितण्डामा पूर्व राजाको संलग्नताको मात्राअनुसार करबाही गर्ने दायित्व सरकारको हो। किन कारबाही भएन बनेर प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद्ले जवाफदेही बनाउन सक्छ । तर, एउटा नागरिकलाई सिधै संसद्मा बोलाउन मिल्दैन । त्यसको एउटा अपवाद छ, संसदको विशेषाधिकार हनन भएको र महाअभियोगको प्रश्न उठेको अवस्थामा भने संसद्ले सर्वसाधारण नागरिकलाई पनि झिकाउन सक्छ।
४.पूर्वराजालाई संसद्मा बोलाउने कुराले उनैको महत्व र गरिमा बढ्ने र उनी कार्याकारी अधिकार प्राप्त ब्यक्ति हुन् भन्ने संदेश सम्प्रेषण हुन्छ । यसले संसदीय ब्यवस्थाको मूल्य मान्यतामा समेत ह्रास आउँछ।
तसर्थ उनलाई होइन यो प्रकरणमा सरकारले उनलाई अहिले सम्म किन कारवाही नगरेको भनेर सरकारलाई जबाफदेही बनाऔं । संसदीय समितिमा त्यो बिषय उठाउने माननिय जीवन परियारलाई त्यो समाचार प्रकाशित गर्ने सेतो पाटी अनलाइनको समाचारमा टिप्पणी गर्ने क्रममा जे जस्तो निम्न स्तरको गाली गलौज गरिएको छ त्यो निन्दनिय र खेद जनक छ । त्यस्तो गाली गलौजमा संग्नलाई भने संसदीय समितिले आफै छानबिन गरि आफै दण्ड जरिबाना गर्न वा सरकारलाई निर्देशन दिन सक्छ।
आजै बिहान माननीय जीवन परियार सङ हामी भुइँ मान्छेको शनिबारे भेट हुने सर्वहारा चिया पसलमा भेट भयो र यो विषयमा विस्तृत कुराकानी पनि भएको छ। यो बहसमा सबैलाई स्वागत छ। File Photo/RN




प्रतिक्रिया