काठमाडौं, ३० चैत । नेकपा (माअोवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीले सरकार नढलेपनि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनताको विश्वास दिनप्रतिदिन ढलेको ढल्यै रहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीको गतिविधिले सरकारप्रति जनताको विश्वास दिनप्रतिदिन घट्दै गएको बताएका हुन् ।
‘उहाँ (ओली) जसरी गतिविधिमा लाग्नुभयो, जनताको आशा, उहाँप्रतिको विश्वास त ढलेको ढल्यै छ त ? कहिले कुलमान घिसिङमा लाग्नुहुन्छ, कहिले केशरजंग बरालमा लाग्नुहुन्छ । अहिले राष्ट्र बैंकको गभर्नर पनि विभिन्न चलखेलबाट नियुक्त हुँदैछ भन्ने आइरहेको छ । उहाँप्रतिको विश्वास त दिनप्रतिदिन ढलेको ढल्यै छ,’– उनले भने ।
उनले वर्तमान सरकार संख्याको बलमा मात्रै बनेको उनले बताए । अब सरकार ०८४ सम्म कांग्रेस–एमालेकै रहने वा नरहने कुरा उनीहरुमै निर्भर रहने नेता घर्तीले बताए । तर, सरकारले गरेको गलत क्रियाकलाप आफूहरुले आम जनतामा लिएर जाने उनले बताए । File Photo/RN




प्रतिक्रिया