पोखरा, ३० चैत्र । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले चैत्र १५ गते राजावादीहरुको प्रदर्शनको क्रममा तिनकुनेमा भएको घट्नाको मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको आरोप लगाएका छन् । पोखरेलले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्ने बताए ।
एमालेद्धारा आज (शनिबार) कास्कीमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । उनले आवश्यक प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन र कारबाही हुने विश्वास दिलाए । तिनकुने घट्नामा ज्ञानेन्द्र शाहलाई जोड्दै पोखरेलले भने,‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु ।’
आजमात्रै झापामा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अब नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नभएको जिकिर गरेका थिए ।
उनले भनेका थिए,‘देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैँक डुबाउनेहरू, आगजनी गर्नेहरू रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन । ठूला कुरा गर्ने र हल्ला गर्नेहरूले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरूको अशली अनुहार चैत्र १५ गतेको तीनकुनेको अराजक घटनाबाट देखिइसकेको छ ।’
गाडीको हुटमा बसेर अराजकता मच्चाउँदै र रक्सीको बोतल लुटेर राजसंस्था नफर्कने भन्दै अब त्यस्तो सपना नदेख्नपनि राजावादीहरुलाई प्रधानमन्त्री ओलीको चेतावनी थियो ।




प्रतिक्रिया