काठमाडौं, ३१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य खुस्बु ओलीले दुर्गा प्रसाईँ यो देशको व्यवस्था, बेथिति र भ्रष्टाचारले जन्माएको पात्र रहेको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रसाईँ व्यवस्था, बेथिति र भ्रष्टाचारको विरुद्धमा जन्मिएका पात्रमध्ये एक रहेको बताएकी हुन् । उनले प्रसाईंको अभियानमा राप्रपाको नैतिक समर्थन रहेको बताईन् ।

‘हाम्रो पार्टीको नैतिक समर्थन थियो । हामीले के भनिरहेका छौं भने– राष्ट्रिको हितमा उभिने व्यक्ति, अभियान, समिति, पार्टी जसलाई पनि हाम्रो समर्थन रहन्छ । दुर्गा प्रसाईंजस्तो धेरै पात्रहरु यो देशमा हुनुहुन्छ । जसलाई यो देशको व्यवस्थाको बेथिति, भ्रष्टाचारले जन्माएको छ । उहाँ त्यहीमध्येको एउटा पात्र हो । अहिले आएर राष्ट्रवादी कित्तामा उभिनुभयो । उहाँजस्तो हजारौं छन् नेपालमा,’– उनले भनिन् ।
साथै, नेतृ ओलीले हरेक कुरामा दलतन्त्र हाबी भइरहेको बताउँदै अब व्यक्ति परिवर्तनभन्दा पनि व्यवस्था परिवर्तन आवश्यक रहेको बताईन् । १७ हजारको रगतमा स्थापित गणतन्त्रलाई नेताहरुले दलतन्त्र बनाएको उनको आरोप छ ।




प्रतिक्रिया