काठमाडौं, २ वैशाख । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘म विगतमा राजा थिएँ’ भन्ने ‘नोस्टाल्जिया’ सताइरहेको बताएका छन् । नगरकोट महोत्सव उद्घाटन समारोहमा पुगेका नेता बास्कोटाले पत्रकार ऋषि धमलासँग संवाद गर्दै आफ्नो गुज्रेका दिनको सम्झनाले सताएर पूर्वराजा ज्ञानेन्द्र बार्बराइरहेको बताएका हुन् । उनले नेपालमा राजतन्त्र भविष्य नभएर विगत रहेको बताए । नेपालमा राजतन्त्रको च्याप्टर सधैंको लागि क्लोज भएको उनले बताए ।
‘लोकतान्त्रिक व्यवस्थामाथि जुन चुनौती सिर्जना गर्नुभएको छ, मेरो उहाँलाई सुझाव छ– मोनार्की पास्ट हो, फ्यूचर होइन । दोस्रो उहाँलाई नोस्टाल्जियाले सताएको होला, कुनै बेला म राजा थिएँ भनेर । तर जनताले आफ्नो शासक चुन्ने व्यवस्था हो । प्रतिनिधि चुन्ने व्यवस्था हो । त्यो कुरा म उहाँलाई ख्याल गर्न अनुरोध गर्न चाहन्छु । राजतन्त्रको च्याप्टर क्लोज भइसकेको छ,’– नेता बास्कोटाले भने ।
आजको नेपाली समाज जन्मजात सर्वोच्चता र वंशको शासन मान्न तयार नरहेको उनले बताए । ज्ञानेन्द्र कुनै बेला झुक्किएर र परिबन्धले कुनै बेला राजा बनेको उनले बताए । पूर्वराजा ज्ञानेन्द्रले गत चैत १५ गतेको वितण्डलाई आन्दोलन भनेको भन्दै उनले आपत्ति जनाए ।
‘कथित आन्दोलन, बितण्डको दिन पहिलो पटक पत्रकार मारिएर सुरु भएको राजसंस्थाको लागि । हिटलरले ग्यास चेम्बरमा पनि त्यति गरेको थिएन । त्यसलाई जन प्रदर्शन भन्ने ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया