सांसद् गौतमको प्रश्नमा मन्त्री पौडेलको जवाफः चिकित्सक र नर्सहरूको पारिश्रमिक बढाउने घोषणाअनुरुप काम भइरहेको छ


काठमाडौं, २ वैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरूको पारिश्रमिक बढाउने घोषणा अनुरुप काम भईरहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य सोविता गौतमले सोधेको लिखित प्रश्नमा मन्त्री पौडेलले चिकित्सक पलायन रोक्न र आवश्यक जनशक्ति पूर्तिका लागि सन्तुलन मिलाउन सरकारले विभिन्न काम गरिरहेको बताएका छन् ।

हालको मुख्य चुनौती चिकित्सकको वितरण रहेको मन्त्री पौडेलले बताएका छन् । दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरु विषेश गरी आधारभूत अस्पतालहरुमा चिकित्सकसहितको दरबन्दी स्वीकृत हुन नसकिरहेको, आधारभूत अस्पतालहरु स्थानीय तहअन्तर्गत रहेको र प्रदेशको समन्वयमा उक्त अस्पतालहरुको दरबन्दी कायम गरी चिकित्सकको दरबन्दी पूर्ति गर्दा चिकित्सकहरुको समतामूलक वितरण हुनसक्ने मन्त्री पौडेलले बताएका छन् ।

तत्कालका लागि निर्माण सम्पन्न भई सकेका आधारभूत अस्पतालहरुमा सरकारले छात्रवृति, करारका चिकित्सकहरु परिचालन गरी सेवा पुर्याउने नीति अवलम्बन गरिरहेको, देशभित्रै चिकित्सक उत्पादन बढाउन सरकारले हालैमात्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन शुरु गरेको जवाफमा उल्लेख छ । प्रस्तावित धर्मभक्त मेडिकल विश्वविध्यालयमा पनि छिटै अध्ययापन गर्ने गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय भइरहेको बताइएको छ ।

देशमा उत्पादित जनशक्तिलाई देशमै खपत गर्ने उद्देश्यले सरकारले स्वास्थ्य मन्त्रालय र मातहतका निकायका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षणको लागि मन्त्रीपरिषद्बाट सैदान्तिक स्वीकृति प्राप्त गरी संगठन व्यवस्थापन सर्वेक्षणको कार्य भईरहेको र अस्पतालहरुमा दरवन्दी संरचना कायम भईसकेपछि धेरै चिकित्सकहरु सरकारी सेवामा प्रवेश गर्ने र देशमै सेवा गर्ने अपेक्षा गरिएको जवाफमा उल्लेख छ ।

हाल कार्यरत चिकित्सकहरुको प्रोत्साहनको लागि अस्पताल विकास समिति, विभिन्न तहका सरकारहरुले चिकित्सकहरुलाई थप सेवा सुविधा उपलब्ध गराईरहेको स्थिति रहेको र स्वास्थ्यकर्मीहरुलाई दुर्गम क्षेत्रमा कार्य गर्न प्रोत्साहनका लागि प्रदेश तथा स्थानीय सरकारहरुसँग समन्वय गरिरहेको बताइएको छ ।

छिल्लो समय चिकित्सकहरुको वैदेशिक पलायन तीब्र रुपमा बढिरहेको भन्ने विषयको समाचार केही हदसम्म सत्य र सही मान्न सकिने र नेपाल मेडिकल काउन्सिलको तथ्याङ्कअनुसार, सन् २०२० देखि २०२३ सम्म ६ हजार, ४ चार सय ६७ चिकित्सकहरूले विदेश जानका लागि नेपाल मेडिकल काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र लिएको बताइएको छ ।

साथै, गत वर्षसम्म नेपाल मेडिकल काउन्सिलको तथ्याङ्कअनुसार नेपालमा ३४ हजार ९ सय १० चिकित्सकहरु दर्ता भएका छन्। जसमध्ये १० हजार ५८८ जना चिकित्सक स्नातकोत्तर तह उतीर्ण छन् । हरेक वर्ष करीब २ हजार ७ सय चिकित्सक नेपाल मेडिकल काउन्सिलमा नयाँ दर्ता भइरहेका छन् ।