कांग्रेस-एमालेबीच असमझदारी र अन्तर्विरोध छैन, प्रचण्डले चाहनाले सरकार ढल्दैनः महेश बर्तौला (भिडिओसहित)


काठमाडौं, ३ वैशाख । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सत्ता गठबन्धन ढल्नेमा कुनै सत्यता नरहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेले संस्थागत निर्णय गरेर बनेको सरकार एक दुई जना मान्छेले चाहँदैमा नढल्ने बताएका हुन् । उनले भने, ‘कांग्रेस र एमाले संसद्का दुई ठूला राजनीतिक शक्तिहरु हुन् । हामीले संस्थागत निर्णय गरेर यो सत्ता सहयात्रा प्रारम्भ गरेका हौं । त्यस कारणले गर्दा एकाध कोही मान्छेहरुले चाहना गर्दैमा यो सरकार ढलिहाल्छ भन्ने जो सोचिरहनु भएको छ, बाहिर हल्ला जे फिँजाउन खोजिएको छ, त्यसमा कुनै सत्यता छैन ।’

नेता बर्तौलाले पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाहँदैमा यो सरकार ढल्ने परिस्थिति विकास नहुने बताए । उनले एमाले र कांग्रेसको बीचमा कुनै पनि असमझदारी, अन्तरविरोध, सत्ता सञ्चालनको प्रक्रियामा द्वन्द्व र मनमुटाव नरहेको बताए । ‘उहाँले चाहँदैमा त्यस प्रकारको राजनीतिक परिस्थिति विकास भइहाल्ने कुरा आजको राजनीतिमा छैन । एमाले र कांग्रेसको बीचमा कुनै पनि असमझदारी, अन्तरविरोध, सत्ता सञ्चालनको प्रक्रियामा कुनै खालको द्वन्द्व, मनमुटाव केही पनि रहेको अवस्था पनि होइन,’– उनले भने ।

सात बुँदे समझदारीको जगमा सरकार अगाडि बढिरहेको बताउँदै उनले त्यही सहमतिअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा अर्को सरकार बन्ने उनले बताए ।.पूर्व प्रधानमन्त्री प्रचण्डले ‘डे वान’ देखि यो सरकार आजै ढल्छ भनेर प्रचार गरेको पनि उनले बताए । File Photo/RN