प्रचण्डले सुनाए माओवादीलाई सरकारमा जाने हतारो नभएको कुरा


काठमाडौं, ४ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूहरु सरकारमा सहभागी हुने सम्भावना ०८४ को निर्वाचनअघि नभएको स्पष्ट पारेका छन् । जनतासँग माओवादी अभियान लिएर रुपन्देही पुगेका दाहाल आज (बिहीबार) त्यहाँ आयोजित पत्रकार सम्मेलनमा आफ्नो दललाई सरकारमा जाने कुनै हतारो नभएको भन्दै अहिले जनतासँग फर्किएको बताएका हुन् ।

दाहालले फेरि सरकारमा गएर अर्को ब्लण्डर नगर्ने पनि विश्वास दिलाए । उनले थपे,‘फेरि सरकारमा गएर अर्को गल्ती गर्दैनौं । हामी फेरि एकचोटी सरकारमा गएर त्यो त्रुटी गर्ने पक्षमा छैनौं। यो हामीले भन्नका लागि भनेको होइन। तपाईंहरु भन्नुहुन्छ–कुर्सी प्राप्तिका लागि जे पनि गर्ने।’

उनले अहिले माओवादी र आफूप्रति जनताको भरोसा र क्रेज बढेको पनि सुनाए । उनले भने,‘वृद्धवृद्धादेखि युवायुवतीदेखि बालवच्चासम्मले पनि अब हाम्रो भरोसा एकचोटी फेरि माओवादीतिर, माओवादी नेतृत्वतिर, प्रचण्डतिर छ भनेर भावुक बनेर आउने हजरौं हजार संख्या हामीले जो देख्यौं हुलाकीमार्ग वरीपरी, त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ, सरकारमा २०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा नयाँ दृढता पैदा भएको छ। तपाईंहरुलाई लाग्छ सरकारमा जान हतारो गरेको होला।’