- प्रदीप ज्ञवाली
कमरेड ‘प्रचण्ड‘ को सत्ता अधीरता अचम्म लाग्दो छ । एकातिर कार्यकर्ताका बिचमा भन्नुहुन्छ– ‘हाम्रो पक्षमा २०६४ जस्तो लहर आइरहेको छ– २०८४ मा देखाइदिन्छौँ, अहिले त हामीलाई सरकारतिर हेर्ने फुर्सद पनि छैन ।’ अर्कातिर हप्तैपिच्छे, महिनैपिच्छे सरकार आज ढल्यो, भोलि ढल्यो भन्ने भविष्यवाणी पनि गर्न छाड्नु हुन्न । भर्खरै त्यस्तै भविष्यवाणीको संभवतः सातौँ संस्करण सार्वजनिक भएको छ ।
ओशोले कतै सुनाएको कथा छ– दुई बालब्रह्मचारीहरुबारे । गुरुले ‘हेर है बाबु हो, स्त्रीहरुतिर फर्केर पनि नहेर्नू ’ भनेर सिकाएका रहेछन् । एकदिन कतै जाँदै गर्दा उनीहरूले नदी किनारमा एकजना महिला रोइरहेको भेटेछन् । वर्षातको नदी उर्लिरहेको थियो र उनी नदीपारी घरमा रहेको दुधे बालकको मायाले विह्वल भइरहेकी थिईन् । उनले ती सन्यासीहरुलाई पारी तारिदिन अनुनय–विनय गरिन् । पहिलोले त त्यता हेर्दापनि हेरेन । दोस्रोले चाहिँ ती आमाको पीडा सहन गर्न नसकेर काँधमा बोकेर पारी तारिदियो, अर्कोले त्यसो नगर भन्दाभन्दै पनि ।
पारी तरिसकेपछि पहिलोले दोस्रोलाई आक्षेप लगायो– तैँले गुरु वचन तोडिस्, स्त्रीप्रति आशक्त भईस् । दोस्रोले धेरै पल्ट सम्झाउने कोशिस गर्यो, ‘होइन भाइ, मैले त विशुद्ध मानवीय नाताले पारी तारिदिएको हुँ ।‘ तर पहिलोले पिछा छाडेन । ‘त्यस आइमाईको लुगा भिजेको थियो, तिघ्रा देखिएको थियो, तँ पक्कै बिटुलिएको हुनुपर्छ’ भन्दै गाली गर्न थालेपछि पहिलोले भनेछ– ‘भाइ, मेरो दिमागबाट त ती महिला उहिल्यै हराइसकिन् । तर तँ चाहिँ पक्कै आशक्त रैछस्, किनभने तैँले उनलाई एउटी आमाका रुपमा होइन, भोग्या स्त्रीका रुपमा हेरिस् र अझ पनि त्यही कल्पेर बसिरहेको छस् । तँसँग आजबाट मेरो बाटो फाट्यो ।’
प्रचण्ड सरको सत्ता अनाशक्ति पनि यस्तै केही होला । उहाँले एमाले– काँग्रेस सहकार्यलाई दुई तिहाईको होइन, ’षडयन्त्रको सरकार’ भन्न भ्याउनुभएछ । हो नि सर, २०७४ सालमा नेपाली काँग्रेससँग सरकारमा रहँदारहँदै एमालेसँग वाम तालमेल गर्नु पनि एकदमै ‘नैतिक’ थियो । नेकपाको दुई तिहाइको सरकार ढालेर नेपाली काँग्रेसलाई सत्तामा पुर्याउन अदालतमा हालिएको मुद्दा पनि ‘सैद्धान्तिक’ नै थियो । पाँच दलीय गठबन्धनका आधारमा चुनाव लडेर २०७९ पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु पनि एकदमै ‘सङ्गतिपूर्ण‘ थियो र त्यसै अवधिमा तीन–तीन पटक सत्ता– सहयात्री फेर्नु पनि ‘शुद्ध राजनीतिक परिघटना’ थियो । किनभने त्यहाँ ‘पारसमणि’ का रुपमा यहाँ हुनुहुन्थ्यो । सरले छोएपछि त फलाम पनि सुन नै बन्ने भयो नि ।
हङ पार्लियामेन्टभित्र सङ्ख्या जुटाउनेले सरकार बनाउँछन् । यसलाई असाध्यै धेरै सैद्धान्तिकरण गर्नु बाञ्छनीय हुँदैन । निःसन्देह, आफूले बनाउने समीकरणबाट सम्बन्धित पार्टीहरुले आफ्ना लक्ष्य र उद्देश्यहरु हासिल गर्ने अधिकतम कोशिस गर्छन् । यति चाहिँ भनी हालूँ– आफ्नो पार्टी बलियो छ, लोकप्रिय छ भन्ने विश्वास भएकाहरुले ‘अर्ली चुनाव‘ माग्छन्, कतिबेला सरकार ढल्ला र कुँदिहालौंला भन्दैनन् । बुढापाकाहरु त्यसै भनेका होइनन् नि– खाना खाएपछि पानी खाने ठाउँ बाँकी राख्नु है नानी हो ।




प्रतिक्रिया