काठमाडौं, ४ वैशाख । समाजवादी प्रेस संगठन नेपालले पत्रकार सुरेश रजकको हत्या प्रकरणको बारेमा उच्चस्तरीय छानविन समिति बनाएर सत्य, तथ्य छानविन गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेको छ ।
संगठनले बिहीबार काठमाडौंको रत्नपार्क, शान्तिबाटिकामा मौन प्रदर्शन गरेको छ । गत १५ चैतमा तिनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा एक घरमा पत्रकार रजकको जलेर मृत्यु भएको थियो । पत्रकार रजकसहित दुई जनाको मत्यु भएको थियो । राजावादीहरुको हंसात्मक प्रदर्शनका क्रममा सरकारी, निजी भवन, पार्टी कार्यालय, व्यापारिक भवनमा लुटपाट, आगजनी, तोडफोड समेत भएको थियो ।
संगठनले पत्रकार रजकको मृत्यु नभई हत्या भएको जनाएको छ । रजकको हत्याबारेमा उच्चस्तरीय छानविन समिति गठन गरी छानविन गर्नुपर्ने, दोषीलाई कडा कारवाही गर्नुपर्ने, शहिद घोषणा गर्नुपर्ने, उनको परिवारलाई क्षतिपुर्ति दिनुपर्नेलगायतका माग गर्दै आन्दोलनमा उत्रेको संगठनका उपाध्यक्ष सुभाष साहले जानकारी दिए ।
प्रदर्शन हिंसात्मक बनेको दृश्य छायांकन गरिरहेका सञ्चारकर्मी रजकको रहस्यमय तवरले जलेर मृत्युभएपछि संगठनले विभिन्न माग गर्दै आन्दोलनमा उत्रेको हो । सभाको समापन सम्बोधन गर्दै संगठनका अध्यक्ष एवं वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले यति ठूलो घटना हुनु र जनधनको ठूलो क्षति हुँदापनि सरकारले छानबिन आयोग गठन नगर्नुले घटना थप रहस्यमय भएको टिप्पणी गरे । ‘सरकारले आफ्नो गल्ती, कमजोरी लुकाउन छानबिन आयोग गठन नगरे पनि सुरेश रजकको हत्याको छानबिन आयोग पत्रकारहरुसँग सम्बन्धित संगठनहरुले मिलेर गर्नुपर्ने अवस्था आएको छ,’ श्रेष्ठले भने ।
यस्तै नेपाल पत्रकार महासंघका पूर्व कार्यवाहक अध्यक्ष एवं वरिष्ठ पत्रकार रमेश विष्टले सञ्चारकर्मी रजकको मृत्यु प्रकरणमा प्रदर्शन आयोजक प्रमुख नवराज सुवेदी र दुर्गा प्रसाईंमाथि संगठनले ज्यान मुद्दा जाहेरी दर्ता गर्नुपर्ने बताए । यस्तै, दिवंगत सुरेशका दाजु पत्रकार दिनेश रजकले भाइको विभत्स तरिकाले हत्या गरेर पत्रिकाले छोपेको अवस्थामा शव फेला परेको जानकारी गराउँदै अपराधीहरुले घटनाको वास्तविकता लुकाउन सुरेशले त्यसबेला दृश्य छायांकन क्यामेरा र मोबाइल लुटेको बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकारहरु, संगठनका पदाधिकारी, सदस्यसहित विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । यसअघि संगठनले रजकको परिवारलाई आर्थिक सहयोगसमेत गरेको छ ।




प्रतिक्रिया