दोहा, ७ वैशाख । इजरायलले प्यालेस्टिनी क्षेत्रमा आफ्नो आक्रमण पुनः सुरु गरेको एक महिनापछि र अर्को चरणको वार्ता सम्झौताबिना नै समाप्त भएपछि कतारका प्रमुख वार्ताकारले एएफपीसँगको अन्तर्वार्तामा गाजामा युद्धविरामको वार्ताप्रति निराशा व्यक्त गरेका छन् ।
“हामी निश्चित रूपमा वार्ता प्रक्रियाको कहिलेकाहीँ हुने सुस्तताप्रति निराश छौँ । यो एक जरुरी विषय हो । यदि यो सैन्य अभियान दिनहुँ जारी रह्यो भने यहाँ जीवनहरू खतरामा पर्छन्”, मोहम्मद अल–खुलैफीले शुक्रबार भने ।
कतारले संयुक्त राज्य अमेरिका र इजिप्टसँग मिलेर इजरायल र हमासबीच गाजामा युद्धविराम मध्यस्थता गरेको थियो । युद्धविराम जनवरी १९ मा लागू भएको थियो र प्यालेस्टिनी लडाकूहरूको सन् २०२३ अक्टोबर ७ को इजरायलमाथिको आक्रमणले शुरू गरेको एक वर्षभन्दा बढीको युद्धलाई मोटामोटी रूपमा रोकेको थियो ।
युद्धविरामको प्रारम्भिक चरण मार्चको शुरुमा समाप्त भयो । दुई पक्ष अर्को चरणहरूमा सहमत हुन सकेनन् ।
हमासले जनवरीको ढाँचामा उल्लिखित युद्धको स्थायी अन्त्यका लागि दोस्रो चरणको युद्धविरामका लागि वार्ता गर्न जोड दिएको छ ।
प्रारम्भिक चरणमा विस्तारको आह्वान गरेको इजरायलले पहिले नै सहायता प्रवेशलाई रोकेपछि मार्च १८ मा गाजा पट्टीमा हवाई र भूमि आक्रमणहरू पुनः सुरु गर्यो ।
बिहीबार राति हमासले इजरायलको ४५–दिनको युद्धविरामका लागि नयाँ प्रस्ताव स्वीकार नगर्ने सङ्केत दिएको थियो । प्यालेस्टिनी समूहले बन्धक बनाएको १० जना जीवित बन्धकलाई रिहा गर्न इजरायलले चाहेको लडाकू समूहले जनाएको छ ।
– आवाज –
“हामीले पछिल्ला दिनहरूमा दुवै पक्षलाई एकसाथ ल्याउन र दुवै पक्षले समर्थन गरेको सम्झौतालाई पुनर्जीवित गर्न निरन्तर प्रयास गरिरहेका छौँ”, कतारी राज्यमन्त्रीले भने, “र हामी कठिनाइहरू हुँदा पनि यसप्रति प्रतिबद्ध रहनेछौँ ।”
लामो मध्यस्थता प्रक्रियामा कतार इजरायल र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको प्रत्यक्ष आलोचनाको निशाना बनेको छ ।
नेतन्याहुका कम्तीमा दुई सहयोगीले इजरायलमा दोहाको चासो प्रवर्द्धन गर्न कतारी सरकारबाट भुक्तानी प्राप्त गरेको आशङ्का गरिएको छ । यसले इजरायली आपराधिक अनुसन्धानलाई उत्प्रेरित गरेको छ । कतारले आक्रमणलाई ‘बदनाम अभियान’ भनेर अस्वीकार गरेको छ ।
यसअघि मार्चमा इजरायलको घरेलु सुरक्षा एजेन्सीले गरेको अनुसन्धानले अक्टोबर ७ को आक्रमणअघि हमासको सैन्य शक्तिमा भएको वृद्धिलाई खाडी राज्यबाट आएको रकमको श्रेय दिएको थियो । कतारले उक्त आरोपलाई ‘झुटो’ भन्दै अस्वीकार गरेको छ ।
“हामीले हाम्रो संलग्नताको प्रारम्भिक समयदेखि नै यस्ता आलोचना र नकारात्मक टिप्पणीहरू प्राप्त गर्दै आएका छौँ”, अल–खुलैफीले भने, “कुनै पनि सन्दर्भ बिनाका आलोचनाहरू, जस्तै हामीले नेतान्याहुबाट सुन्दै आएका आलोचनाहरू प्रायः हल्ला मात्र हुन् ।”
अल–खुलैफीले नेतन्याहुका अमेरिका–आधारित इभान्जेलिकल क्रिश्चियन च्यानल डेस्टारलाई दिएका हालका टिप्पणीहरू अस्वीकार गरे । उक्त टिप्पणीमा नेतन्याहुले कतारले अमेरिकी कलेज परिसरहरूमा ‘अमेरिका–विरोधी र यहुदीवाद–विरोधी’ भावना प्रवर्धन गरेको बताएका थिए । रासस




प्रतिक्रिया